देशभर परिवर्तनको बहस चर्किँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति बढ्दो जनआकर्षणले पर्सा क्षेत्र नम्बर १ को चुनावी माहोल थप रोचक बनेको छ। विशेषगरी वीरगञ्ज महानगरपालिका–२३ मा सम्पन्न पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठनात्मक विस्तारसँगै जनसमर्थनको आधार फराकिलो बन्दै गएको संकेत दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आधा दर्जन स्थानीय पदाधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्। वडा नम्बर २३ मा आयोजित कार्यक्रममा माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतो, सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार ततवासहितका पदाधिकारीहरू रास्वपामा आबद्ध भएको जनाइएको छ। प्रवेश कार्यक्रममा बोल्दै उनीहरूले परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक शक्तिलाई सघाउने निर्णय गरेको बताएका थिए।
यसैबीच पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। शनिबार नगवामा पार्टी कार्यालय उद्घाटनसँगै उनले घरदैलो कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाएका हुन्। नगवामा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको थियो।
टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका पन्तले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे। घण्टी चुनाव चिन्हको प्रचारमा कार्यकर्ताहरू घरघर पुगेका थिए। कार्यक्रमका क्रममा स्थानीय महिला तथा पुरुषहरूले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।
घरदैलोमा युवाहरूको उत्साह विशेष रूपमा देखिएको थियो। समर्थकहरूले पन्तसँगै बालेन शाह र रवि लामिछानेका तस्वीर तथा घण्टी चिन्ह अंकित सामग्री बोकेर नाचगानसहित समर्थन जनाएका थिए। “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” जस्ता नाराले वातावरण थप उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्याउँदै परम्परागत दलप्रति निराश जनताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे। उनले क्षेत्रीय विकासका लागि योजनाबद्ध तथा परिणाममुखी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक तथा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलाई प्राथमिकतामा राख्ने बताए।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, सडकको दुरवस्था, स्वास्थ्य सेवाको अभाव तथा समग्र आर्थिक–राजनीतिक अस्थिरताबारे प्रश्न उठाएका थिए। जवाफमा पन्तले केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय गर्दै पर्सा–१ लाई विकासको नयाँ मोडमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न सक्रिय बनेका छन्। रास्वपाले भने आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै जनतामाझ सशक्त उपस्थिति विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ।