वीरगञ्ज महानगरपालिका–३१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति बढ्दो जनआकर्षणका बीच बुद्धिजीवी तथा भद्र–भलादमीहरूको एक समूहले प्रतिनिधिसभा निर्वाचनमा ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने भद्र सहमति जनाएको छ।
हिजो अबेर राति स्थानीय शिव मन्दिरमा बसेको बैठकले फरक–फरक राजनीतिक दलमा आबद्ध भए पनि यस पटक औपचारिक रूपमा पार्टी प्रवेश नगरीकनै रास्वपाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। सहभागीहरूले विगत करिब ३५ वर्षदेखि मुलुकमा जकडिएको कुशासन, भ्रष्टाचार, बेथिति र अनियमितताको अन्त्यका लागि निर्णायक परिवर्तन आवश्यक रहेको धारणा राखे।
देश परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै उनीहरूले यस निर्वाचनमा दलभन्दा माथि उठेर निर्णय लिनुपर्ने निष्कर्ष निकाले। “अबको मतदान भविष्यका लागि हुनेछ, विगतको निरन्तरताका लागि होइन,” बैठकमा सहभागी एक अगुवाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
यस निर्णयसँगै पर्सा क्षेत्र नम्बर १ को चुनावी माहोलमा नयाँ तरंग देखिएको छ। देशव्यापी रूपमा चलिरहेको परिवर्तनको बहसले रास्वपाप्रति आकर्षण तीव्र बन्दै जाँदा स्थानीय तहमा पनि त्यसको प्रभाव स्पष्ट हुन थालेको विश्लेषण गरिएको छ। प्रभावशाली व्यक्तित्वहरूको मौन समर्थनले संगठनात्मक उपस्थितिभन्दा बाहिर जनसमर्थनको आधार फराकिलो बन्दै गएको संकेत गरेको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।
आज सम्पन्न कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा आबद्ध ठूलो समूहले पार्टीगत आबद्धता फरक भए पनि प्रतिबद्धता भने रास्वपाप्रति रहने स्पष्ट पारे।
रास्वपा पर्सा सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तले स्थानीय प्रभावशाली व्यक्तित्वहरूको समर्थनले आफू उत्साहित भएको प्रतिक्रिया दिए। फरक विचार र सिद्धान्त भएका व्यक्तिहरूको साथले समग्र क्षेत्रको राजनीतिक समीकरण परिवर्तन हुने उनको दाबी छ।
“अब परिवर्तनको आवाज र लहर घरघरमा पुग्नेछ,” पन्तले भने, “जनताले पुरानो शैलीको राजनीति होइन, इमानदार नेतृत्व र जवाफदेही शासन खोजेका छन्।”
आगामी निर्वाचनमा यस समर्थनले कस्तो परिणाम ल्याउनेछ भन्ने विषय यतिबेला पर्सा–१ को चुनावी बहसको केन्द्रमा पुगेको छ।