वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ अन्तर्गत कोइरिया टोलमा शुक्रबार आयोजित घरदैलो अभियानमा स्थानीय बासिन्दाले आधारभूत पूर्वाधारको अभावबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामनरेश यादवसँग प्रत्यक्ष संवाद गर्दै मतदाताहरूले सडक, नाला र फोहोर व्यवस्थापन जस्ता आधारभूत सुविधाबाट अझै वञ्चित रहनुपरेको गुनासो गरेका हुन्।
स्थानीयका अनुसार महानगरपालिकाभित्र रहे पनि आफ्नो टोलमा न राम्रो सडक छ, न व्यवस्थित ढल–नाला, न त सरसफाइको उचित प्रबन्ध। सहरी क्षेत्रका केही भागमा मात्र विकास निर्माणका काम भएको तर ग्रामीण भेगलाई उपेक्षा गरिएको उनीहरूको आरोप छ। गर्मीयाममा धुलो र वर्षायाममा हिलोको समस्या झेल्न बाध्य भएको उनीहरूले बताएका छन्।
घरदैलोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार यादवले मतदाताबाट प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिएको बताए। उनले विगतमा निर्वाचित जनप्रतिनिधिले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा सुधार आवश्यक रहेको धारणा राखे।
ग्रामीण वडामा विद्यालयको अवस्था कमजोर रहेको, कतै शिक्षक अभाव त कतै विद्यार्थी अभाव देखिएको उनले बताए। विकासका नाममा विगतमा उल्लेखनीय उपलब्धि हासिल नभएको भन्दै उनले यसपटक परिवर्तनका लागि ‘छाता’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे।
कार्यक्रममा पार्टीका महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य फिरोज मन्सुरी, श्यामबाबु चौरसिया, रेखा साह, बलिराम यादव, क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, नगर अध्यक्ष घनश्याम गुप्ता, रितेश गुप्ता लगायत नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो।