पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२३ मा शुक्रवार बिहान भएको नेकपा एमालेको पार्टी प्रवेश तथा वडा भेलामा जसपा नेपालका वडा इकाइ कमिटी अध्यक्षसहित दुई सय पचासभन्दा बढी स्थानीय नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा जसपा वडा इकाइ कमिटी अध्यक्ष जमुना यादव, सचिव मनोज कुमार यादव, तथा नेताहरू नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी, श्याम किशोर यादव लगायत दुई सय पचासभन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा नवप्रवेशीहरूलाई पर्सा–१ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले अबीर टीका लगाएर पार्टीमा स्वागत गर्दै वडा–२३ मा एमाले अझ बलियो बनेको बताए। यादवले जेन–जी आन्दोलनपछिको खतरापूर्ण राजनीतिक अवस्था र संविधानको रक्षा गर्न सक्ने एकमात्र शक्ति एमाले भएको उल्लेख गरे। साथै मधेस आन्दोलनबाट प्राप्त संघीयता, समावेशीता र अन्य उपलब्धि रक्षा गर्न एमाले उपयुक्त भएको भन्दै आफू एमाले रोजेको प्रस्ट पारे।
यादवले पर्सा–१ मा देखिएका अन्य दलका उम्मेदवारहरूलाई लक्षित गर्दै भने, “कोही बाहिरका जिल्लाबाट आएका होटल व्यवसायी छन्, कोही उद्योगपति छन्। यी उम्मेदवारहरू कहिल्यै जनताको दुःख–सुखमा देखिएका छैनन्। केवल चुनावमा मत माग्न आउँछन् र हारपछि पाँच वर्ष गायब हुन्छन्।”
पूर्वमन्त्रीसमेत रहेका यादवले मतदातालाई आफ्नो क्षेत्रको विकास, जनताको साथ र सेवा मूल्याङ्कन गरेर फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न आग्रह गरे। उनले भने, “जनताको दुःख–सुखमा को साथमा उभियो? कोरोना महामारी र खानेपानी संकटको समयमा को दिनरात खट्यो? यी प्रश्नको जवाफ आफैंले खोज्नुहोस् र विवेकपूर्ण मतदान गर्नुहोस्।”
कार्यक्रम एमालेका वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहा लगायतका नेताहरू उपस्थित थिए।