पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले प्रतिस्पर्धी उम्मेदवारहरूलाई लक्षित गर्दै चुनावपछि जनताबाट टाढिने प्रवृत्तिमाथि कडा टिप्पणी गरेका छन् । उनले जनताको दुःख–सुखमा निरन्तर साथ दिने नेतृत्वलाई मात्र मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीमा शुक्रबार बिहान आयोजित नेकपा एमालेको बृहत् पार्टी प्रवेश तथा वडा भेलालाई सम्बोधन गर्दै यादवले पर्सा–१ मा देखिएका केही उम्मेदवारहरू बाहिरी जिल्लाबाट आएका व्यवसायी र उद्योगपति भएको उल्लेख गरे । उनले ती उम्मेदवारहरू जनताको बीचमा कहिल्यै नदेखिएको र चुनावका बेला मात्र मत माग्न आउने गरेको आरोप लगाए ।
पूर्वमन्त्रीसमेत रहेका यादवले भने, “जनताको संकट र विपद्का बेला को साथमा उभिएको थियो भन्ने कुरा मतदाताले स्मरण गर्नुपर्छ । चुनावपछि पाँच वर्ष हराउनेलाई होइन, निरन्तर क्षेत्रमै सक्रिय रहनेलाई छान्नुपर्छ ।”
उनले कोरोना महामारी, खानेपानी संकटलगायतका कठिन समयमा आफूले जनताको बीचमा रहेर काम गरेको दाबी गरे । फागुन २१ गते हुने निर्वाचनमा विवेकपूर्ण निर्णय लिन उनले मतदातासँग आग्रह गरे ।
यादवले जेन–जी आन्दोलनपछि देश र संविधान चुनौतीमा परेको दाबी गर्दै वर्तमान अवस्थामा नेकपा एमाले नै स्थिरता दिन सक्ने शक्ति भएको बताए । मधेस आन्दोलनबाट प्राप्त संघीयता र समावेशिताजस्ता उपलब्धिको रक्षा गर्न पनि एमालेको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहालगायत नेताहरूको सहभागिता रहेको थियो ।