पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै जाँदा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफको पक्षमा मधेश प्रदेश सरकारका मन्त्री स्वयं मैदानमा उत्रिएका छन् । मन्त्रीस्तरको प्रत्यक्ष सक्रियताले पर्सा–१ को चुनावी समीकरण नयाँ मोडतर्फ उन्मुख भएको संकेत देखिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । यसैबीच जनमत पार्टीका उम्मेदवार सर्राफको समर्थनमा मधेश प्रदेशका मन्त्री दशरथ कुशवाहा सक्रिय रूपमा चुनावी अभियानमा होमिएका हुन् ।
मन्त्री कुशवाहाले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै सर्राफलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरिरहेका छन् । उनले जनमत पार्टीको एजेण्डा मधेशको अधिकार, सुशासन र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै पर्सा–१ मा नयाँ र ऊर्जावान नेतृत्व आवश्यक रहेको बताएका छन् ।
युवा उम्मेदवार सर्राफ स्पष्ट राजनीतिक दृष्टिकोण र योजनासहित चुनावी मैदानमा छन् । उनले रोजगारी सिर्जना, कृषि तथा साना उद्योग प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलाई प्राथमिकतामा राख्दै मतदातामाझ आफ्नो धारणा राखिरहेका छन् । विशेषगरी युवापुस्तामाझ उनको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय स्रोतहरूको भनाइ छ ।
जनमत पार्टीका कार्यकर्ताहरूले पर्सा–१ मा पार्टीप्रति आकर्षण बढिरहेको दाबी गरेका छन् । घरदैलो अभियान, युवासभा, टोलभेला तथा रात्रीसभामार्फत सर्राफले चुनावी वातावरण आफ्नो पक्षमा पार्न सफल भएको स्थानीय बुद्धिजीवीहरूको आकलन छ । केही विश्लेषकहरूले उनलाई प्रतिस्पर्धामा अग्रस्थानतर्फ उन्मुख उम्मेदवारका रूपमा समेत हेर्न थालेका छन् ।
यसैक्रममा जनमत पार्टीको आयोजनामा वीरगंज महानगरपालिका–४ विर्तामा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ । कार्यक्रममा सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, गुनासा र सुझाव सुनेका थिए । उनले नागरिकका अपेक्षालाई आफ्नो प्रतिबद्धताको केन्द्रमा राख्ने आश्वासन दिएका छन् ।
घरदैलो अभियानमा मन्त्री कुशवाहासहित स्थानीय नेताहरूले संघीय संसद्मा सशक्त आवाज उठाउन सक्षम, युवा र ऊर्जावान नेतृत्व आवश्यक रहेको दोहोर्याएका छन् । उनीहरूले विकास, पारदर्शिता र स्थायित्वका लागि सर्राफ उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् ।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–१ मा राजनीतिक प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ । मतदाताहरू पनि आफ्ना मुद्दा स्पष्ट रूपमा अघि सार्न थालेका छन् । यस्तो परिस्थितिमा सर्राफले अघि सारेका एजेण्डा, मन्त्रीस्तरको समर्थन र सक्रिय चुनावी अभियानले पर्सा–१ को चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।