आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। बिहीबार वीरगञ्ज महानगरपालिका–२१ स्थित हिकमत नगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सर्राफले मधेस र मधेसी जनताको वास्तविक अधिकारका लागि जनमत पार्टीको विकल्प नभएको दाबी गरे।
सर्राफले स्थानीय जनताको अवस्था सुधार्नका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “पुराना दलहरूले वीरगञ्जलाई केवल भोट बैंकको रूपमा प्रयोग गरे। अब गफ गर्ने होइन, काम गरेर देखाउने नेतृत्व चाहिएको छ।” उनले मतदातालाई जनमत पार्टीको ‘हर्न’ चिह्नमा मतदान गरेर परिवर्तनको पक्षमा उभिन आग्रह गरे।
उम्मेदवार सर्राफले आफ्नो अभियान शिक्षा, स्वास्थ्य र सुशासनमा केन्द्रित रहेको बताए। उनले जनतालाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने, नारायणी अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूलाई सुदृढ र भरपर्दो बनाउने, स्थानीय युवाहरूका लागि वीरगञ्जमै रोजगारीका अवसर सिर्जना गर्ने र भ्रष्टाचार मुक्त तथा पारदर्शी सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता सुनाए।
सर्राफले मतदातालाई चुनावी व्यापार र पैसाको प्रलोभन देखाउने ‘मौसमी नेता’ बाट सजग रहन पनि सुझाव दिए। उनले थपे, “म यहीँको माटोमा भिजेको र तपाईंहरूकै सुख–दुःखको साथी हुँ। मलाई जिताउनु भनेको वीरगञ्जको विकासलाई जिताउनु हो।”
सभामा जनमत पार्टीका स्थानीय नेता, कार्यकर्ता र ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। चुनावी सरगर्मी बढ्दै गएसँगै पर्सा १ मा सर्राफको पक्षमा जनलहर बढिरहेको दाबी पार्टीले गरेको छ।