नेपाली कांग्रेसका सभापति गगन थापाले संवैधानिक नियुक्ति र सार्वजनिक ओहदामा अब राजनीतिक भागबन्डा नहुने स्पष्ट पारेका छन्।
राष्ट्रिय सभामा आयोजित प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले विभिन्न नियुक्तिमा अब दलको प्रभाव नहुने, अब्बल नीति कार्यान्वयन हुने बताए। उनले भने, “कहिँ पनि अब पाँच वर्षको दौरानमा आयोग वा विश्वविद्यालयमा बसेर भागबन्डा माग्न गयो भन्ने कुरा सुन्नुपर्ने छैन।”
उहाँका अनुसार, यो सुनिश्चित गर्न संस्थागत सुधार आवश्यक छ र त्यसका लागि स्पष्ट खाका तयार पारिएको छ।
सभापति थापाले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त समाज बनाउने लक्ष्य राखेका छन्। उनले भने, “नेपालबाट भ्रष्टाचार अन्त्य गरी नागरिकलाई हैरानीबाट मुक्त र सरकारलाई जबाफदेही बनाउने हाम्रो उद्देश्य हो। यसका लागि आयोगले २०४८ सालदेखि सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नेछ। कांग्रेसका प्रत्येक व्यक्तिको छानबिन समेत हुनेछ।”
उहाँले जोड दिए, “आयोगको निर्णय कार्यान्वयनमा नेता वा नाता हेर्दैन। सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरे २० वर्षपछि भए पनि सजाय हुने भन्ने मान्यता स्थापित गर्न आवश्यक छ।”
थापाले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुनहरू निर्माण गर्ने योजना पनि सार्वजनिक गर्दै भने, “अख्तियारले नीतिगत भ्रष्टाचारको परिभाषा ६ महिनाभित्र तयार पार्नेछ। कन्फ्लिक्ट अफ इन्टरेस्ट र तोकिएको समयमा काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने कुरा कानुनमार्फत लागु गरिनेछ।”