नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले बिहीबार वीरगञ्ज महानगरपालिका–४ र ५ मा व्यापक घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
आगामी फागुन २१ गतेको निर्वाचन लाई लक्षित गर्दै आयोजित कार्यक्रममा यादवले आफ्नो विगतको योगदानको मूल्याङ्कन गर्न र सही नेतृत्वलाई मत दिन मतदातासँग आग्रह गरेका थिए। उनले दुवै वडाका प्रत्येक घरमा पुगेर स्थानीय जनताको सुख–दुखमा सधैं साथ दिँदै आएका नेतालाई छान्नुपर्नेमा जोड दिए।
पूर्व मन्त्री समेत रहेका यादवले मतदातालाई भने, “यो निर्वाचनले हाम्रो क्षेत्र मात्र होइन, सिङ्गो देशको दिशा तय गर्नेछ। त्यसैले सही व्यक्ति र दललाई छान्नुहोस्।” उनले आफ्नो दुई कार्यकालको योगदान र क्षेत्रीय विकास तथा जनसेवामा निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न पनि अपिल गरे।
यादवले ‘मौसमी नेता’ बाट जनतालाई सजग रहन सुझाव दिँदै भने, “म चुनावी मौसमी नेता होइन, यो कुरा जनतामाझ जगजाहेर छ। व्यापारीहरूले आफ्नो नाफा–घाटा हेर्छन्, चुनावलाई पनि व्यापार जस्तै गर्छन्। जनता यसबाट सजग हुनुपर्छ।”
उनले देशलाई अहिलेको सङ्कटबाट निकालेर विकास र समृद्धितर्फ लैजान सक्ने पार्टी एमाले मात्रै भएको दाबी गरे। यादवले भने, “स्टन्ट गर्नेहरूले भोटका लागि जे पनि बोल्न सक्छन्, तर चुनावपछि उनीहरू कहाँ गायब हुन्छन् त्यसको अत्तोपत्तो हुँदैन। देशलाई समृद्धितर्फ लैजान सक्ने दल एमाले हो, तपाईँहरूले आफ्नो अमूल्य मत यसलाई दिनुहोस्।”
कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेताहरू शम्भु गुप्ता, सुन्दर कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतका पदाधिकारीहरूको सहभागिता थियो। स्थानीयहरूले यादवको विगतका कामहरूको प्रशंसा गर्दै निर्वाचनमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।