अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको वास्तविक अर्थ आमनागरिकको अनुहारमा देखिने मुस्कान र निस्फिक्री निद्रामा झल्कनुपर्ने बताएकी छन्। युवाको आवाज दबाएर होइन, सम्बोधन गरेर मात्रै राष्ट्र अघि बढ्न सक्ने स्पष्ट सन्देश दिँदै उनले नातावाद, कृपावाद र भ्रष्टाचारविरुद्ध युवा पुस्ता दृढ रहेको जिकिर गरिन्।
सैनिकमञ्च टुँडीखेलमा आज आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रजातन्त्रको सार नागरिकको जीवनस्तरमा देखिनुपर्ने बताइन्। “प्रजातन्त्रको वास्तविक झल्को अन्त कतै होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूको निस्फिक्री निद्रामा झल्कनुपर्छ,” उनले भनिन्।
युवालाई बेवास्ता गरे राष्ट्र अस्थिर हुने चेतावनी दिँदै उनले भनिन्, “म स्पष्ट रूपमा भन्न चाहन्छु— युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन। युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ। उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन। त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ।”
निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित
प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको जानकारी दिइन्। निर्वाचनले मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वतर्फ लैजाने “नयाँ युगको ढोका” खोल्ने विश्वास उनले व्यक्त गरिन्।
“निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौँ,” उनले भनिन्।
वि.सं. २०१५ साल फागुन ७ गतेबाट सुरु भएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचनको स्मरण गर्दै उनले आगामी निर्वाचन तोकिएकै मितिमा विश्वसनीय वातावरणमा सम्पन्न हुने सुनिश्चित भएको बताइन्। स्वस्थ र निष्पक्ष निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वमा लैजानुपर्नेमा उनको जोड थियो।
‘लोकतन्त्र प्रक्रिया मात्र होइन’
प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल प्रक्रिया नभई परिणाम दिन सक्ने प्रणाली हुनुपर्नेमा जोड दिइन्। “प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु लोकतन्त्रको अभ्यास होइन, त्यो बेथिति हो,” उनले भनिन्।
२३ र २४ भदौको घटनापछि गठन भएको सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकार केन्द्रित रहेको बताइन्। असामान्य अवस्थालाई सामान्यीकरण गर्दै शान्ति–सुरक्षा कायम गर्नु र छोटो समयमै निर्वाचनको अनुकूल वातावरण बनाउनु सरकारको प्राथमिक कार्यादेश रहेको उनको भनाइ थियो।
निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन आह्वान गरिन्।