प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, पारदर्शी र त्रुटिरहित बनाउन निर्वाचन आयोगले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदान प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित गर्ने उद्देश्यले आयोगले नयाँ कार्यविधि लागू गरेको हो।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले कार्यविधि निर्माण गरेको जनाएको छ। कार्यविधिअनुसार स्थायी मतदाता नामावली सङ्कलन कार्यक्रमसहितको सूचना प्रकाशन गरिनेछ। आवश्यकताअनुसार उक्त सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।
नयाँ कार्यविधिअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, नेपाली सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछ।
यसैगरी, कुनै व्यक्तिको नाम छुटेको वा विवरणमा त्रुटि भएको अवस्थामा सम्बन्धित व्यक्तिले प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ। प्राप्त निवेदनका आधारमा आवश्यक प्रक्रिया पूरा गरी नाम समावेश वा विवरण सच्याइने आयोगले स्पष्ट पारेको छ।