नेपाली कांग्रेस ले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। बुधबार जनकपुरमा आयोजित विशेष समारोहमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नारासहित आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू पनि स्पष्ट गरिएको छ।
पार्टीको भिजन अनुसार नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राख्ने योजना बनाइएको छ। जात, धर्म, लिङ्ग वा क्षेत्रको आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो राखेर बाँच्न सक्ने ‘सम्मानित नेपाल’ निर्माण गर्ने लक्ष्य कांग्रेसले राखेको छ।
भिजन दस्तावेजमा विधिको शासनलाई कडाइका साथ लागू गरी सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने र प्रशासनिक सेवा बेथिति तथा हैरानीमुक्त बनाउने प्रतिबद्धता समावेश गरिएको छ।
सभापति गगन थापा ले भ्रष्टाचार नियन्त्रण गर्दै सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने व्यवस्था मिलाउने दाबी गर्नुभयो।
आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ। साथै स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र विदेश पलायन रोक्ने रणनीति पनि भिजनमा समेटिएको छ।
कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्दै ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल बनाउने योजना प्रविधि र बजार व्यवस्थापनमार्फत अघि बढाइने उल्लेख गरिएको छ। पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउने चित्र पनि भिजनमा समेटिएको छ।
आधारभूत सेवा सुविधामा शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाइएको छ। ‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना गर्दै उपचारकै कारण कोही पनि गरिब नहुने, गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने योजना समावेश गरिएको छ।
त्यसैगरी छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पनि राखिएको छ।
नेपालको मौलिक विविधता, भाषा, संस्कृति र सम्पदामा गर्व गर्दै आधुनिकतालाई आत्मसाथ गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गर्ने कुरालाई पनि भिजनमा समेटिएको छ।