पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद सुरु गरेका छन्। जनमत पार्टीका तर्फबाट उम्मेदवार बनेका सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भिस्वा र वडा नम्बर–२३ सबैठवामा सन्ध्याकालीन चुनावी सभा तथा घरदैलो कार्यक्रम गर्दै स्थानीय बासिन्दाका समस्या सुनेका हुन्।
घरदैलोका क्रममा वडा नम्बर–१५ भिस्वामा सडकको दयनीय अवस्था, ढल निकासको अभाव, खानेपानी समस्या र सरसफाइ व्यवस्थापनको कमजोरी प्रमुख रूपमा उठाइएको थियो। वर्षायाममा सडक हिलाम्मे हुने, नालाको अभावमा पानी जम्ने र दुर्गन्ध फैलिने समस्या समाधान गर्न स्थानीयले माग गरेका थिए।
त्यस्तै वडा नम्बर–२३ सबैठवामा कच्ची सडक, अव्यवस्थित ढल, सडकबत्तीको अभाव, स्वास्थ्य सेवामा पहुँचको कमी तथा युवाहरूका लागि रोजगारी अभावजस्ता विषय उठेका थिए। स्थानीय बासिन्दाले आधारभूत पूर्वाधार विकास, सुरक्षित सडक, नियमित सरसफाइ र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्न सरार्फसँग आग्रह गरेका थिए।
स्थानीयको गुनासो सुनेपछि उम्मेदवार सरार्फले चुनाव जितेपछि जनताको विश्वासको कदर गर्दै ठोस योजना र प्रभावकारी कार्यान्वयनमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताले देखिने र महसुस हुने विकास चाहेका छन्। सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा सुधार मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने।
सरार्फले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, साना तथा मध्यम व्यवसायलाई सहयोग गर्ने र पूर्वाधार विकासलाई गति दिने योजना अघि सारेका छन्। जनतासँग प्रत्यक्ष संवादलाई वास्तविक राजनीति भएको उल्लेख गर्दै उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।
घरदैलो अभियानमा युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीयहरूले यसपटक विकास र काम गर्ने उम्मेदवारलाई समर्थन गर्ने धारणा व्यक्त गरेका छन्।
जनमत पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले क्षेत्रको चुनावी माहोल थप तातेको छ। सरार्फले आगामी दिनमा अन्य वडाहरूमा पनि निरन्तर घरदैलो अभियान सञ्चालन गर्दै जनतासँगको संवादलाई अझ सशक्त बनाउने बताएका छन्।
“जनताको विश्वास, विकासको आधार” भन्ने नारासहित सरार्फले चुनावी अभियानलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।