नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर–५ को विकास र समृद्धिका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मंगलबार एमाले झापा क्षेत्र नम्बर–५ ले औपचारिक रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
सार्वजनिक प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख छ। एमालेले विगतमा आफ्नै नेतृत्वको सरकारले अघि सारेका लोकप्रिय कार्यक्रमहरूको आधारमा बाँकी रहेका अधुरा योजनाहरू पूरा गर्ने अठोटसमेत व्यक्त गरेको छ।
देशमा व्याप्त राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता पनि पत्रमा समावेश गरिएको छ। साथै कृत्रिम बुद्धिमत्ता (एआई) तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक कानुनी नियमन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ।
नदी नियन्त्रण र पूर्वाधार विकासतर्फ रतुवा, मावा र कमल खोला लगायतका नदीहरूमा तटबन्ध निर्माण गरी नदी कटान नियन्त्रण गर्ने तथा पक्की पुल निर्माणमार्फत आवागमन सहज बनाउने योजना अघि सारिएको छ।
भौतिक पूर्वाधार अन्तर्गत दमक–चिसापानी–रवि सडकखण्डको निर्माण कार्यलाई पूर्णता दिने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडक स्तरोन्नति गर्ने तथा हुलाकी मार्ग अन्तर्गत माई नदीको पुलको अधुरो काम सम्पन्न गर्ने लक्ष्यसमेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
एमालेले झापा–५ लाई समृद्ध, व्यवस्थित र पूर्वाधारयुक्त क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको जनाएको छ।