आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिसकेको नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘सी’ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।
दुवै टोली समूह चरणबाट बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाका लागि हुनेछ। नेपाल सुखद जितसहित विश्वकप यात्रा टुंग्याउने लक्ष्यमा छ।
वानखेडे स्टेडियममै आफ्ना तीनवटै खेल खेलेको नेपालले सबै खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल त्यसपछि डेब्युटान्ट इटलीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो। तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको हार बेहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
उता स्कटल्याण्डले भने पहिलो खेलमा इटलीलाई पराजित गर्दै प्रतियोगिता सुरु गरेको थियो। तर त्यसपछि लगातार दुई खेलमा हार बेहोरेको स्कटल्याण्ड पनि इंग्ल्यान्डले इटलीलाई हराएपछि अन्तिम खेलअघि नै समूह चरणबाट बाहिरिएको हो।
समूह ‘सी’ मा नेपाल मात्र जितविहीन टोली भएकाले आजको खेल जित्दै समर्थकलाई खुशी बनाउने लक्ष्यमा छ। एकै मैदानमा तीन खेल खेल्दा पनि नेपालले त्यसको फाइदा उठाउन सकेन। यता स्कटल्याण्डले सुरुआती तीन खेल कोलकातास्थित एडेन गार्डेन्स मा खेलेर मुम्बई आइपुगेको हो।
नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गरे पनि त्यसयता खेलेका दुई संस्करणमा कुनै जित हात पार्न सकेको छैन। त्यसैले नेपाल १२ वर्षपछि टी–२० विश्वकपमा पहिलो जितको खोजीमा छ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म टी–२० अन्तर्राष्ट्रियमा दुई खेल भएका छन्, जसमा दुवैले समान १–१ खेल जितेका छन्।