मधेशको धार्मिक र ऐतिहासिक महत्त्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ। धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ धार्मिक स्थल समेट्दै करिब १३३ किलोमिटर भू–भागको यात्रामा श्रद्धालु पैदल चल्ने परम्परा रहेको छ। नेपालमा १०७ र भारतमा २६ किलोमिटर पैदल यात्रा हुने परिक्रमामा लाखौँ श्रद्धालु सहभागी छन्।
परिक्रमाको पहिलो दिन धनुषा मिथिला बिहारी नगरपालिका–८ स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तन र बाजागाजासहित रामजानकीको डोला निस्केको छ। कार्यक्रममा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव समेत उपस्थित थिए। डोलाले जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर पुग्नेछ, जहाँ अन्य मठ–मन्दिरबाट ल्याइएका डोलाहरू पनि समावेश भएर औपचारिक रूपमा यात्रा प्रारम्भ हुन्छ।
परिक्रमामा वृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारका यात्रा गरिन्छ। वर्तमानमा मध्य परिक्रमामा सहभागीको संख्या उल्लेखनीय रूपमा बढी देखिएको छ। परम्परागत बाजागाजा, झाँकी–कीर्तन, मौलिक पहिरन र लाखौँ श्रद्धालुहरूको सहभागिताले यसलाई सांस्कृतिक उत्सवको रूपमा प्रस्तुत गरेको छ।
१५ दिने यात्रामा क्रमश: हनुमाननगर, बिहारको कलना, फुलहरको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) हुँदै अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी यात्रा सम्पन्न हुने कार्यक्रम रहेको छ।