पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगञ्ज–३१ नवकाटोलामा अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गर्दै घरदैलो अभियानलाई तीव्रता दिने घोषणा गरेका छन्।
भेटघाटमा उनले भने, “निर्वाचन केवल मत लिने प्रक्रिया मात्र होइन, जनभावना बुझ्ने र समाधान प्रस्तुत गर्ने अवसर हो। हामी संगठित र एकताबद्ध भए विजय सुनिश्चित छ।” रुङटाले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, युवाका लागि स्वरोजगार र उद्यमशीलता, महिलाको सशक्तीकरण, कृषि र व्यापारको आधुनिकीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, अन्य वरिष्ठ नेता तथा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रममा उपस्थित अगुवा कार्यकर्ताहरूले क्षेत्रीय समस्या, जनचासो र चुनावी रणनीतिबारे महत्वपूर्ण सुझाव राख्दै संगठन सुदृढीकरण र निरन्तर संवादको आवश्यकता औँल्याए। रुङटाको योजनाले पर्सा–१ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्र बनाउने दिशामा नयाँ उत्साह थपेको छ।