नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगञ्ज महानगरपालिका–१६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सङ्गठन सुदृढीकरण र जनसम्पर्क विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको कार्यालयको उद्घाटन पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार प्रदीप यादव ले रिबन काटेर गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्रीसमेत रहेका यादवले कार्यालय स्थापना वडा–स्तरीय जनसम्पर्क अभियानको औपचारिक सुरुवात भएको बताए। उनले वीरगञ्जलाई समृद्ध, सफा, सुन्दर र बस्न योग्य सहर बनाउने एमालेको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गरे।
“हामीले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, युवालाई रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने तथा सडक, बिजुली र खानेपानीजस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नेछौँ,” उनले भने, “समग्र वीरगञ्जलाई औद्योगिक केन्द्रका साथै पर्यटकीय हबका रूपमा विकास गर्नु हाम्रो मुख्य चुनावी एजेन्डा हो।”
यादवले आफ्नो विगतको सार्वजनिक सेवाको अनुभव स्मरण गर्दै सांसद र मन्त्रीको जिम्मेवारी सम्हाल्दा जनसेवामा सुधारका उल्लेखनीय काम गरेको दाबी गरे। “त्यही अनुभवका आधारमा अब वीरगञ्जको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउने र जनताको दैनिक जीवन सहज बनाउने लक्ष्य लिएको छु,” उनले थपे।
उनले वीरगञ्ज–१६ का मतदाता, शुभेच्छुक र समर्थकहरूलाई कार्यालयमा नियमित रूपमा आउन, सुझाव दिन र अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। “तपाईँहरूको साथ र सहयोगले हाम्रो जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउनेछ,” उनको भनाइ थियो।
कार्यालय उद्घाटनसँगै एमालेले वीरगञ्ज–१६ सहित सहरका विभिन्न वडामा जनसम्पर्क तथा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने जनाएको छ। कार्यालयलाई उम्मेदवार तथा कार्यकर्ताहरूको नियमित सम्पर्क केन्द्रका रूपमा सञ्चालन गरिने जानकारी दिइएको छ।
कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव र भुसाल चौरसियालगायतको उपस्थिति रहेको थियो।
यसैबीच, आज बिहान वीरगञ्ज–१८ सौराहामा तय गरिएको प्रदीप यादवको घरदैलो कार्यक्रम स्थानीय बलिस्टर यादवको निधनका कारण स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ। पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जानकारी दिएको छ।