जिल्ला प्रहरी कार्यालय पर्सा ले २०८२ साल माघ महिनामा जिल्लाभर १११ वटा विभिन्न प्रकृतिका अपराध दर्ता भएको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सो अवधिमा १०३ जना प्रतिवादी पक्राउ परेका छन् भने ६२ जनालाई फैसला कार्यान्वयनका क्रममा पक्राउ गरी १६ वर्ष ६ महिना १ दिन कैद तथा २२ लाख २२ हजार ६०९ रुपैयाँ जरिवाना असुल गरिएको छ।
जघन्य तथा आर्थिक अपराध
माघमा कर्तव्य ज्यान १, हातहतियार २, बैंकिङ कसूर २२ र मुद्रा सम्बन्धी १ गरी २६ वटा जघन्य तथा आर्थिक अपराधका घटना दर्ता भएका छन्। सम्पत्ति शुद्धीकरणतर्फ हुण्डी सम्बन्धी १ मुद्दा दर्ता भई २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ रुपैयाँ बिगो दाबी गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण
लागूऔषधका ७ मुद्दा दर्ता भई १२ जना पक्राउ परेका छन्। सो क्रममा १०२ किलो ३०० ग्राम गाँजा, १ ग्राम २२०.५१ मिलिग्राम ब्राउन सुगर र १०० ट्याब्लेट औषधिजन्य लागूऔषध बरामद गरिएको छ।
आत्महत्या र सामाजिक अपराध
झुण्डिएर आत्महत्या गरेका १० घटनामध्ये ६ पुरुष, ३ महिला र १ बालिका रहेका छन्। उमेर समूह अनुसार १६–२५ वर्षका ८ जना रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ५१ उजुरी दर्ता भएको र सबै घरेलु हिंसा उजुरी (५१) मिलापत्रमार्फत टुंग्याइएको विवरणमा उल्लेख छ।
सवारी दुर्घटना र राजस्व
माघमा ६५ सवारी दुर्घटनामा १ जनाको मृत्यु र ११३ जना घाइते भएका छन्। ८६७ सवारी साधन कारबाहीबाट १० लाख ६४ हजार १ रुपैयाँ जरिवाना असुल गरिएको छ। दुर्घटनामध्ये २६ चालकको लापरबाही र ३९ अन्य कारणबाट भएका छन्।
भन्सार छली र अवैध कारोबार
राजस्व चुहावट नियन्त्रणतर्फ २२ लाख ३७ हजार ४०८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी २ जना पक्राउ गरिएको छ। राजस्व छलीका सामान करिब ३ करोड रुपैयाँ बराबर बरामद गरिएको प्रहरीको दाबी छ। अवैध मदिरा १,२५६ लिटर बरामद गरी २ जना पक्राउ तथा ७ वटा भट्टी नष्ट गरिएको छ।
विपद् व्यवस्थापन र समुदाय कार्यक्रम
आगलागीका ४ घटनाबाट २ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। विपद् व्यवस्थापनमा १२० जना प्रहरी परिचालन गरिएको थियो।
समुदाय केन्द्रित २८५ कार्यक्रममार्फत ६,६८१ जना लाभान्वित भएका छन् भने विद्यालय केन्द्रित १५ कार्यक्रमबाट १,०२६ विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ।
प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले अपराध न्यूनीकरणका लागि CCTV निगरानी, सामाजिक सञ्जाल अनुगमन, नियमित गस्ती, चेकिङ र सामुदायिक सचेतना कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिए।
प्रहरीका अनुसार आगामी दिनमा पनि सीमानाका निगरानी कडा पार्दै अपराध नियन्त्रण र शान्ति सुरक्षालाई थप सुदृढ बनाइनेछ।