आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल १०७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा १२ जना महिला उम्मेदवारले पनि प्रतिस्पर्धालाई रोचक बनाएका छन् । यद्यपि समग्र संख्याको तुलनामा महिलाको उपस्थिति भने निकैै न्यून देखिन्छ ।
राजनीतिक दलबाट ५ जना र ७ जना स्वतन्त्र महिला उम्मेदवार मैदानमा छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी महिला उम्मेदवारी पर्सा क्षेत्र नं. ४ मा परेको छ ।
क्षेत्र नं. १
आर्थिक तथा औद्योगिक केन्द्र वीरगञ्ज समेटिएको यस क्षेत्रमा ३० जना उम्मेदवारमध्ये एकजना मात्र महिला उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारका रूपमा आर्य शशिकला राउत मैदानमा उत्रिएकी छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका अनिल रुंगटा, एमालेका प्रदीप यादव, रास्वपाका हरि पन्त, नेकपाका अजय चौरसिया, जसपा नेपालका रामनरेश यादव, जनमतका ओमप्रकाश सर्राफ, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह परागलगायत मुख्य प्रतिस्पर्धी छन् ।
क्षेत्र नं. २
वीरगञ्जको शहरी तथा ग्रामीण क्षेत्र समेटिएको यस क्षेत्रमा ३१ जना उम्मेदवारमध्ये ४ जना महिला छन् । एमालेकी रिमाकुमारी यादव, राप्रपाकी वीना जैसवाल, आम जनता पार्टीकी रंजुकुमारी साह र स्वतन्त्र उम्मेदवार किसमतीदेवी प्रतिस्पर्धामा छन् । उनीहरूले कांग्रेसका अजयकुमार चौरसिया, नेकपाका मनोज चौधरी, रास्वपाका सुशील साह, लोकतान्त्रिक प्रगतिशील पार्टीका अभिताभ बच्चन दासलगायतसँग प्रतिस्पर्धा गर्नेछन् ।
क्षेत्र नं. ३
यस क्षेत्रमा २३ जना उम्मेदवारमध्ये जनमत पार्टीकी मालतीकुमारी कुशवाह एकमात्र महिला उम्मेदवार हुन् । उनी कांग्रेसका सुरेन्द्र चौधरी, एमालेका रुपेश पाण्डेय, नेकपाका छोटेलालप्रसाद यादव, रास्वपाका रामाकान्तप्रसाद चौरसियालगायतसँग प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं. ४
सबैभन्दा बढी महिला उम्मेदवारी परेको यस क्षेत्रमा २३ जना उम्मेदवारमध्ये ६ जना महिला छन् । जनमत पार्टीकी सीमादेखि कलवार र स्वतन्त्र उम्मेदवारहरू सुरजीदेवी नुनिया, उमादेवी, कान्तिदेवी कुर्मी, कोरैसा खातुन र गीतादेवी बनिया चुनावी मैदानमा छन् । उनीहरू कांग्रेसका रमेश रिजाल, एमालेका जामिल मियाँ मन्सुरी, नेकपाका जयप्रकाश थारु, रास्वपाका टेकबहादुर शाक्य, जसपाका कृपासिन्धु प्रसादलगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
समग्रमा हेर्दा पर्सामा महिला सहभागिता अझै सीमित देखिए पनि विभिन्न दल र स्वतन्त्र रूपमा मैदानमा उत्रिएका महिला उम्मेदवारहरूले यसपटकको निर्वाचनलाई थप उत्साहपूर्ण र अर्थपूर्ण बनाएका छन् । कतिपय उम्मेदवारी निर्वाचनका बेला सवारी साधनको सुविधा उपयोगका लागि मात्र पनि पर्ने गरेको जानकारहरू बताउँछन् ।