मतदाता भेट्न घरघर पुग्दा कुर्मीले स्थानीय मागलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा क्षेत्र नम्बर २ की उम्मेदवार विना जयसवाल कुर्मीले पर्सागढी नगरपालिका–६ चैनपुरमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छन्।
आगामी निर्वाचनको तयारीका क्रममा कुर्मीले स्थानीय बासिन्दासँग सडक, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मुद्दामा छलफल गर्दै स्थानीय सुझाव र गुनासोलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “स्थानीयको आवश्यकता र सुझावलाई आधार बनाएर काम गर्ने मेरो लक्ष्य हो,” उनले भनिन्।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कुर्मीले मतदातालाई आगामी निर्वाचनमा राप्रपाको पक्षमा मतदान गर्न अपिल गर्दै पार्टीको राष्ट्रिय एजेन्डालाई स्थानीय सन्दर्भमा व्याख्या गरिन्। उनले भनिन्, “राप्रपा राष्ट्रिय एकता, प्रजातन्त्र र विकासको पक्षधर हो।”
उम्मेदवार कुर्मीको चुनावी एजेन्डामा राजतन्त्रलाई अभिभावकीय संस्थाको रूपमा पुनर्स्थापना गर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने, सङ्घीय संरचना खारेज गरेर केन्द्रीकृत शासन प्रणाली अपनाउने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने जस्ता राजनीतिक सुधारको योजना समावेश छ।
साथै उनले कृषिमा लगानी वृद्धि, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक उदारीकरण र राष्ट्रियताको संरक्षणलाई प्राथमिकतामा राखेको बताइन्। स्थानीय स्तरमा पर्सा क्षेत्रमा सिँचाइ, स्वास्थ्य सेवा र युवा रोजगारी कार्यक्रमलाई विशेष जोड दिने कुर्मीले प्रतिवद्धता व्यक्त गरिन्।