वीरगञ्ज महानगरपालिका–२४ रामघडवामा नेपाली कांग्रेसका कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता चौरसियाले नेपाली कांग्रेसले सधैं विकासको जग बसाउँदै आएको उल्लेख गरे। उनले आगामी दिनमा पनि देशमा विकासको नयाँ लहर ल्याउन सक्ने शक्ति कांग्रेससँग नै रहेको दाबी गर्दै पार्टीका पक्षमा मतदान गर्न आग्रह गरे।
देशको ऐतिहासिक पहिचान जोगाउन, संस्कृति संरक्षण गर्न तथा सुशासन कायम राख्न नेपाली कांग्रेस अपरिहार्य रहेको उल्लेख गर्दै चौरसियाले सबैलाई एकताबद्ध भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरे।
कार्यक्रममा श्यामप्रसाद पटेल, जनार्दन सिंह क्षेत्री, ओम प्रकाश शर्मा तथा कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मी लगायत नेताहरूको उपस्थिति रहेको थियो।
यसैगरी अगुवा नेता तथा कार्यकर्ताहरू मोहम्मद साहाबुद्दिन, जंगाली राउत कुर्मी, पारस पटेल, सारदानन्द तिवारी, राजनाथ ठाकुर, रणजीत पटेल, रोशन पटेल लगायतको सहभागिता रहेको थियो।
सहभागीहरूले वडा नं. २४ मा कांग्रेसको संगठन थप सुदृढ हुँदै गएको र चुनावी माहोल उत्साहजनक बन्दै गएको बताएका छन्।