पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाउँदै घरदैलो अभियान निरन्तरता दिएका छन्। यसैक्रममा वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वामा आयोजित रात्रीसभा उल्लेख्य जनसहभागितासहित सम्पन्न भएको छ। भीडको उपस्थितिले चुनावी माहोल थप सक्रिय बनेको देखिएको छ।
घरदैलो अभियानका क्रममा सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको धारणा, अपेक्षा र स्थानीय समस्याहरू सुने। इनर्वाका बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक–नाला जस्ता आधारभूत पूर्वाधार साथै युवापुस्ताको भविष्यसँग जोडिएका विषय उठाएका थिए। सर्राफले यी विषयलाई प्राथमिकतामा राख्दै “जनताको आवाज संसदसम्म पुर्याउने” अठोट दोहोर्याए।
रात्रीसभामा उनले मधेशका मुद्दा लामो समयदेखि ओझेलमा परेको उल्लेख गर्दै, जनमत पार्टी नै यी मुद्दा सम्बोधन गर्ने विकल्प भएको बताए। उनले भने, “मधेशको नाममा ठूला आन्दोलन भए, धेरै राजनीतिक नारा उठे, तर आज पनि आधारभूत सवालहरू पूर्ण रूपमा सम्बोधन भएका छैनन्। विजयी भएपछि पहिचान, प्रतिनिधित्व, विकास र अधिकारका सवाललाई नीतिगत तहमा उठाउनेछौँ।”
सर्राफले विगतमा निर्वाचित प्रतिनिधिहरूले व्यक्तिगत स्वार्थमा ध्यान दिएको आरोप लगाउँदै मतदातालाई सचेत हुन आग्रह गरे। उनले आफ्नो अभियानको आधार स्पष्ट एजेण्डा, पारदर्शिता र जवाफदेहिता रहेको र नयाँ सोचका साथ काम गर्ने शैली आवश्यक भएको बताए।
कार्यक्रममा उपस्थित युवाहरूले रोजगारी, सीपमूलक तालिम र उद्यमशीलताका अवसरबारे प्रश्न उठाए। सर्राफले युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यक्रम कार्यान्वयन गर्ने योजना सुनाए। महिला सहभागीहरूले शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवद्र्धनमा सहयोगको अपेक्षा राखेका थिए।
स्थानीय बुद्धिजीवीहरूले उम्मेदवार सर्राफको स्पष्ट एजेण्डा र प्रत्यक्ष संवाद शैलीले मतदातामा आकर्षण बढाएको टिप्पणी गरे। उनीहरूले जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको अवस्थामा सर्राफ नै विकल्प रहेको बताए।
घरदैलो र सभासमारोहले पर्सा क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढाएको छ। इनर्वाबाट सुरु भएको सक्रियता क्षेत्रका अन्य वडामा निरन्तर जारी रहने जनाइएको छ। साथै आज वीरगन्ज महानगरपालिका वडा नं. ५ मा पनि घरदैलो सम्पन्न भएको छ।
कार्यक्रममा बिध्यालाल प्रसाद, रम्भा मिस्रा, समानुपातिक उम्मेदवार बबिता पुडासैनी, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज साह, सत्युग साह, सुनिल गुप्ता, दिनानाथ साह, मुकेश यादव, नरेश राम, तुल्सि राम, अलि अकबर मिया, सिकेश महतो, निराजन कुशवाहा लगायत सयौंको उपस्थिति रहेको थियो।