राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको ७ सय ५३ स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा पर्सा जिल्लाका स्थानीय तहको स्थिति कमजोर देखिएको छ । विशेषगरी धोबिनी गाउँपालिकाले ३२.८८ अंक प्राप्त गर्दै देशभरिका उत्कृष्ट स्थानीय तहको सूचीमा निकै पछाडि परेको छ ।
देशभरि सर्वश्रेष्ठ कार्यसम्पादन गरेको पाणिनि गाउँपालिका ८३.८४ अंकसहित पहिलो स्थानमा छ भने रुकुम पश्चिमको चौरजहारी दोस्रो (८२.१५) र गुल्मीको मालिका (८१.९८) तथा धुर्कोट गाउँपालिका (८०.५२) उत्कृष्ट सूचीमा छन्।
आयोगले मूल्यांकनका लागि बजेट सार्वजनिक र पास गर्ने समय, राजस्व उठान र प्रदेश सरकारमा बुझाउने, बजेट प्रक्षेपण, विद्यार्थी भर्ना दर, कक्षा ९ विद्यार्थी टिकाउ दर, गर्भजाँच गर्ने महिला अनुपात, एसईई नतिजा, खोप लगाएका बालबालिकाको अनुपात लगायत १७ सूचकको आधार मानेको छ।
मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर देखिएको छ। धनुषाको धनौजी (३१.८१), महोत्तरीको सोनमा (३५), सर्लाहीको चन्द्रनगर (३५.१६), रौतहटको फतुवा विजयपुर (३५.४१), वृन्दावन (३१.६९) र देवाही गोनाही (३०.९१) समेत न्यून अंकमा छन्।