नेपाली कम्युनिष्ट पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले बुधबार पर्सागढी नगरपालिकाका वडा नं. १ र २ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गरेका छन् । चुनावी अभियानलाई तीव्रता दिँदै उनले विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन् ।
वडा नं. १ र २ अन्तर्गत पर्ने घोडपसरा, बगवाना, पिप्रौथ, खेखरिया, झोङ्गर, छतवनटारी, कटानी र कोइलाभारलगायतका बस्तीमा पुगेका चौधरीले स्थानीय बासिन्दासँग उनीहरूको समस्या, अपेक्षा र आवश्यकताबारे जानकारी लिएका थिए । घरघरमै पुगेर गरिएको संवादले मतदातासँग नजिकिन थप सहयोग पुगेको उनको भनाइ छ ।
कार्यक्रमकै क्रममा चौधरीले पर्सागढी–२, घोडपसरा निवासी ११५ वर्षीया ज्येष्ठ नागरिक पल्टी देवीसँग भेट गरेका थिए । भेटका अवसरमा वृद्धवृद्धाहरूले भोगिरहेका समस्या र आवश्यकताबारे छलफल भएको थियो । पल्टी देवीले चौधरीलाई जितको शुभकामना दिँदै सफलताको कामना व्यक्त गरेकी थिइन् ।
मतदातासँगको संवादमा चौधरीले आफू चुनाव जितेर जनतालाई निराश पार्ने नेता नभएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी देशको दशा र दिशा परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढिरहेको दाबी गर्दै उनले गरिब, किसान र श्रमिक वर्गको भविष्य सुनिश्चित गर्नु पार्टीको प्रमुख एजेन्डा रहेको उल्लेख गरे । परिवर्तनका लागि जनताको साथ र समर्थन अपरिहार्य रहेको भन्दै उनले मतदातासँग सहयोगको अपिलसमेत गरेका छन् ।
घरदैलो तथा जनता दर्शन कार्यक्रममा पार्टीका नेता नागेन्द्र चौधरी, रामचन्द्र साह, वीरेन्द्र यादव, रामेश्वर मण्डल, मंजुर आलम, सत्यनारायण दास, अरुण रेग्मी, सोम लामा, बृजलाल पासवान, रामस्वरूप रामलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।