आइसिसी टी–२० विश्वकपमा नेपाल आज १२ वर्षदेखिको जितविहीन यात्रालाई अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रँदैछ । समूह ‘सी’ अन्तर्गतको दोस्रो खेलमा नेपालले इटालीसँग मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे प्रतिस्पर्धा गर्नेछ ।
पहिलो खेलमा इंग्ल्यान्डसँग रोमाञ्चक ४ रनको हार बेहोरेको नेपालका लागि सुपर–८ सम्भावना जोगाइराख्न आजको खेल जित्नैपर्ने अवस्था छ । इटाली पनि स्कटल्याण्डसँग ७३ रनले पराजित भएपछि दबाबमा छ । त्यसैले दुवै टोलीका लागि यो खेल विश्वकप यात्राको दिशा तय गर्ने निर्णायक मोड बनेको छ ।
नेपालले वानखेडेमा पहिले नै खेलिसकेकाले पिच र अवस्थाबारे अनुभव बटुलेको छ । कप्तान रोहितकुमार पौडेलले उक्त अनुभवलाई टोलीका लागि सकारात्मक पक्ष मानेका छन् । ‘इंग्ल्यान्डविरुद्धको प्रदर्शनले हाम्रो आत्मविश्वास बढाएको छ । इटाली राम्रो टोली हो, तर हामी तयार छौँ,’ उनले बताएका छन् ।
नेपाल र इटालीबीच टी–२० मा यो पहिलो भेट हो । यद्यपि ५० ओभरको खेलमा भने नेपालले तीनै पटक जित निकालेको इतिहास छ । सन् २००५ मा शक्ति गौचनको शतकसँगै सुरु भएको जितको सिलसिला २०१३ सम्म कायम थियो । लामो अन्तरालपछि पुनः यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।
विश्वकपमा भने नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएयता जित हात पार्न सकेको छैन । सन् २०२४ को संस्करणमा तीन खेलमा पराजित भएको नेपाल यस पटक त्यो विगत बदल्ने लक्ष्यमा छ । पछिल्लो समय टी–२० फर्म्याटमा निरन्तर सुधार गर्दै वेस्ट इन्डिजविरुद्ध २–१ को ऐतिहासिक सिरिज जितेको आत्मविश्वास पनि टोलीसँग छ ।
ओपनर कुशल भुर्तेल र आसिफ शेख नेपालको ब्याटिङका मुख्य आधार हुन् । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले मिडल अर्डर सम्हाल्नेछन् । बलिङमा सन्दीप लामिछानेसँगै करण केसी, नन्दन यादव र युवा शेर मल्लको प्रदर्शन निर्णायक बन्न सक्छ । यद्यपि डेथ ओभरमा रन नियन्त्रण नेपालको चुनौतीको विषय बनेको छ ।
इटाली भने नियमित कप्तान वेन म्याडसनको अनुपस्थितिमा मैदान उत्रनेछ । चोटका कारण उनले खेल गुमाउने पुष्टि गरेका छन् । जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ इटालीका प्रमुख खेलाडी हुन् ।
आजको खेलमा अर्को रोचक पक्ष पनि देखिन सक्छ । इटालीका दुई जोडी र नेपालका आरिफ–आसिफ शेख गरी एकै खेलमा तीन जोडी दाजुभाइ मैदान उत्रने सम्भावना छ, जसले विश्वकपमा दुर्लभ कीर्तिमान बनाउनेछ ।
नेपालका लागि आजको खेल केवल अंकका लागि मात्र होइन, १२ वर्षदेखिको विश्वकप जितविहीन श्रृंखला तोड्ने अवसर पनि हो ।