जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह तथा राजनीतिक दलहरूले विज्ञप्ति जारी गरेपछि स्थानीय प्रशासनले उक्त निर्णय गरेको हो।
बिहीबारदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञाअनुसार विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रका सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत विमानस्थल हाताभित्रका सबै क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न निषेध गरिएको’ उल्लेख छ।
आदेशमा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासमा गरिने यस्ता गतिविधिबाट उत्तेजित भीडका कारण तोडफोड, आगजनी लगायत उच्छृङ्खल गतिविधि हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
यद्यपि, निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्ण रूपमा भेला भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हकप्रति स्थानीय प्रशासन प्रतिबद्ध रहेको पनि आदेशमा स्पष्ट गरिएको छ।
साथै, पूर्वजानकारी गराई आयोजना गरिएका विरोध कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने चेतावनी पनि प्रशासनले दिएको छ।