गामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीव्र बनाएका छन्। पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले बुधबार वीरगञ्ज महानगरपालिका–१४ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।
घरदैलो कार्यक्रमका क्रममा यादवले यसअघि दुई पटक पर्सा–१ बाट निर्वाचित भइसकेपछि क्षेत्रको विकासका लागि आफूले गरेका कामबारे जानकारी गराए। विशेषगरी गत वर्ष देखिएको खानेपानी सङ्कट समाधानमा आफूले खेलेको भूमिकालाई स्मरण गर्दै उनले समस्या देखिएको २४ घण्टाभित्रै प्रत्येक टोलमा डीप बोरिङ जडान गर्न निर्देशन दिएको दाबी गरे।
“पानीको समस्या उत्पन्न हुँदा सौभाग्यवश म खानेपानी मन्त्री थिएँ। समस्या देखिएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिएपछि आज वीरगञ्जको खानेपानी समस्या समाधान भएको छ,” यादवले भने।
उनले निर्वाचनपछि पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै मतदातालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे। “सांसद बने पनि, मन्त्री बने पनि म सधैँ तपाईंहरूकै घरदैलोमा छु। म चुनावमा मात्र देखिने होइन, सुख–दुःखमा साथ दिने जनप्रतिनिधि हुँ,” यादवको भनाइ थियो।
यादवले मतदातालाई अन्य दलका उम्मेदवारहरू आएमा उनीहरूको काम, उपस्थिति र जनताप्रतिको उत्तरदायित्वबारे प्रश्न गर्नसमेत आग्रह गरे।
घरदैलो कार्यक्रममा वीरगञ्ज–१४ का वडाध्यक्ष महबुब एलाही अन्सारी, पूर्व वडाध्यक्ष भरतप्रसाद कुर्मी तथा नेकपा (एमाले) का नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।