पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत पर्ने टेढा र रामवनमा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले वीरगन्ज महानगरपालिकाभित्र समेटिए पनि ग्रामीण वडाहरू अझै आधारभूत पूर्वाधारबाट वञ्चित रहेको बताएका छन्। उनले ग्रामीण भेगका नागरिकले महानगरको अनुभूति गर्न नपाएको उल्लेख गर्दै विगतका जनप्रतिनिधिहरूले विकासको नाममा जनतालाई ठगेको आरोप लगाए।
सरार्फले आफू निर्वाचित भएमा टेढा, रामवनलगायत ग्रामीण वडाहरूको समग्र विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याउने प्रतिबद्धता जनाए। उनका अनुसार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू कार्यान्वयन गरिनेछ।
उनले देश र मधेसको राजनीतिक निकासको स्पष्ट र दूरदर्शी भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सी.के. राउतसँग मात्र रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न मतदातासँग आग्रह गरे।
कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा डा. मनोज कुमार, नजमा खातुन, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साहलगायतको उपस्थिति रहेको थियो।