वानखेडे स्टेडियममा १८ हजारभन्दा बढी नेपाली समर्थक रातो जर्सीमा, हातमा राष्ट्रिय झण्डा बोकेर उभिएका थिए—इतिहास बदलिने क्षणको प्रतीक्षामा। अन्तिम ओभरमा जितका लागि १० रन, क्रिजमा विश्वकप डेब्यू गरिरहेका लोकेश बम र अर्को छेउमा करण केसी। जित अब टाढा थिएन। तर अन्तिम बलमा भाग्यले साथ दिएन र नेपाल इंग्ल्यान्डविरुद्ध ४ रनले पराजित भयो।
दुई पटकको टी–२० विश्वकप विजेता इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो। स्कोरबोर्डमा हार देखिए पनि मैदानमा नेपालले साहस, आत्मविश्वास र स्तर देखायो।
अन्तिम ओभरको संघर्ष
अन्तिम ओभरमा बलिङ गर्न आएका साम करान पनि दबाबमा देखिन्थे। पहिलो बल डट रह्यो। दोस्रो र तेस्रो बलमा एक–एक रन आएपछि नेपाललाई ३ बलमा ८ रन चाहियो। चौथो बलमा लोकेश बमले दुई रन लिएर आशा जीवित राखे। तर पाँचौँ बल डट रहँदा अन्तिम बलमा जितका लागि छक्का आवश्यक भयो। लोकेशले प्रयास गरे, तर १ रनमै सीमित हुनुपर्यो।
लोकेश बम: हारमा पनि नायक
एक समय खेल नेपालबाट टाढिँदै जाँदा लोकेश बमले छक्का–चौकाको वर्षा गर्दै खेललाई अन्तिम बलसम्म पुर्याए। छैटौँ नम्बरमा ब्याटिङ गरेका उनले २० बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ३९ रन बनाए। नतिजा नआए पनि उनले नेपालका लागि नयाँ भरोसाको संकेत दिए।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रनको उत्कृष्ट इनिङ खेले। कप्तान रोहित पौडेलले ३९ र कुशल भुर्तेलले २९ रन जोडे।
भावुक लोकेश, टुटेको सपना
खेलपछि लोकेश बमको अनुहारले सबै कुरा बोलेको थियो। ‘अन्तिम ओभरमा एउटा बल हान्न सकेको भए हुन्थ्यो। फेरि पनि टेष्ट राष्ट्रसँग नजिक पुगेर चुक्यौं। म धेरै दुःखी छु,’ उनले भने।

पहिलो विश्वकप खेलिरहेका लोकेशले अनुभवको कमी महसुस भएको स्वीकार गरे। ‘एक्साइटमेन्ट धेरै थियो। अनुभवको हिसाबले एक्जुकेसन मिस भयो जस्तो लाग्छ,’ उनले भने।
निर्णयमा भरोसा
सेकेन्ड लास्ट बलमा सिंगल नलिएको निर्णयबारे नन्दन यादवले स्पष्ट पारे। ‘लोकेश त्यो समय सबैभन्दा राम्रो हिट गरिरहेका थिए। खेल उनले नै फर्काएका थिए। त्यसैले उनलाई स्ट्राइकमा राख्नु सही निर्णय थियो,’ नन्दनले भने।
इंग्ल्यान्ड पनि नेपालबाट प्रभावित
प्लेयर अफ द म्याच बनेका इंग्ल्यान्डका विल ज्याक्सले नेपालप्रति खुलेर प्रशंसा गरे। ‘नेपालले हामीलाई अन्तिमसम्म धकेल्यो। यो सजिलो खेल थिएन। विश्वकप क्रिकेट यस्तै हुन्छ,’ उनले भने।
दोहोरिएको कथा, बढ्दो विश्वास
नेपालका लागि टेस्ट राष्ट्रविरुद्धको कथा फेरि उस्तै रह्यो—साहसी खेल, नजिकको हार। २०२३ एसियन गेम्समा भारत, २०२४ विश्वकपमा दक्षिण अफ्रिका र अहिले इंग्ल्यान्ड—नतिजा आएन, तर दूरी झन् घट्दै गएको छ।
हारमा पनि आशा
यो हारमा पनि नेपालका लागि धेरै सकारात्मक संकेत देखिए—शेर मल्लको डेब्यूमै विकेट, चार खेलाडीको विश्वकप डेब्यू, दीपेन्द्रसिंह ऐरीको टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा, र सबैभन्दा महत्वपूर्ण—टेष्ट राष्ट्रलाई जित्न सक्ने आत्मविश्वास।
अगाडि अझ ठूलो लक्ष्य
नन्दन यादवले हाँस्दै भने, ‘अब सिकाइ के हो भने, अझ धेरै छक्का हान्नुपर्छ।’
वानखेडेमा नतिजा नेपालको पक्षमा आएन। तर नेपाल अब केवल सहभागी टोली होइन—टेष्ट राष्ट्रलाई हराउन नजिक पुगेको, सम्मान र भरोसा कमाएको टोली बनिसकेको छ।