राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना जायसवाल कुर्मीले पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेकी छन्।
कार्यक्रमका क्रममा कुर्मीले स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै पर्सागढीको ऐतिहासिक महत्वलाई विश्वव्यापी रूपमा प्रचार–प्रसार गर्ने तथा क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
जनतासँग संवाद गर्दै कुर्मीले पर्सागढीलाई नेपालको स्वाधीनताको प्रतीकका रूपमा व्याख्या गरिन्। नेपाल–अंग्रेज युद्धको क्रममा पर्सागढीको भूमिमा स्थानीय वीरहरू र नेपाली फौजले ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक तथ्य स्मरण गराउँदै उनले भनिन्, “पर्सागढीका वीरताका कारण नेपाल कुनै पनि विदेशी शक्तिको उपनिवेश बन्नबाट जोगियो। यही पावन भूमिमा नेपाली वीरहरूले अंग्रेजहरूलाई पराजित गर्दै अमर इतिहास रचेका हुन्।”
उनले सो ऐतिहासिक स्थल अझै राज्य र विश्वको नजरमा ओझेलमा परेको उल्लेख गर्दै सांसद निर्वाचित भएमा पर्सागढीको संरक्षण, प्रवर्द्धन र पर्यटन विकाससँग जोड्ने स्पष्ट योजना अघि सारिन्। “पर्सागढीको ऐतिहासिक महत्वलाई संसारसामु चिनाउने, यसको पहिचान जोगाउने र पर्यटनमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने मेरो लक्ष्य हो,” कुर्मीले बताइन्।
कुर्मीले पर्सा क्षेत्रका आधारभूत समस्या समाधानलाई पनि आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पारिन्। स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राख्दै उनले भनिन्, “स्थानीय जनताले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्छ। रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य छन्, यस अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ।”
जनता दर्शन कार्यक्रममा स्थानीय बासिन्दाहरूले सडक, खानेपानी, विद्यालय सुधार, अस्पतालको स्तरोन्नति, कृषि तथा उद्योग विकासलगायतका समस्याहरू उठाएका थिए। कुर्मीले सबै समस्या ध्यानपूर्वक सुन्दै तिनको समाधानका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको विश्वास दिलाइन्।