पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ भन्सार टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार सरार्फले महिलाको सम्मान र सशक्तीकरण बिना समाज समृद्ध हुन नसक्ने स्पष्ट पार्दै महिलाका लागि ठोस र व्यवहारिक ‘रोडम्याप’ आफूसँग रहेको बताएका छन्। उनले महिला साक्षरता अभिवृद्धि, सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा आयआर्जनका अवसरसँग महिलालाई जोडेर आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।
सरार्फले वीरगन्जका सरोकार र विकासका मुद्दा तथा मधेसको अधिकार र पहिचानका सवालमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै संसद र सम्बन्धित निकायमा वीरगन्ज र यहाँका नागरिकको शिर ठाडो हुने गरी आवाज उठाउने दृढ प्रतिबद्धता जनाए।
देश र मधेसको दीर्घकालीन निकासका लागि स्पष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सिके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा जनमत पार्टीको चुनाव चिह्न ‘हर्न’ मा मतदान गर्न सम्पूर्ण मतदातासँग अपिल गरे।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले स्वस्फूर्त रूपमा उम्मेदवार सरार्फको भव्य स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रममा पूर्व एसएसपी अनुराग द्विवेदी, नेतृ अनिता रौनियार, समानुपातिक उम्मेदवार विजय पासवान र बबिता पुडासैनीसहित नेताहरू नजमा खातुन, भुपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतको उल्लेख्य सहभागिता रहेको थियो।