आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय नोट भित्र्याउने योजनामा रहेको अन्तरदेशीय गिरोह भारतमा पक्राउ परेको छ।
भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा प्रहरी र विशेष कार्यदल (एसटिएफ) को संयुक्त कारबाहीमा सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा सञ्चालनमा रहेको अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला पारी ध्वस्त गरिएको भारतीय प्रहरीले जनाएको छ।
छापामारीमा २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १ हजार ८ सय ५० रुपैयाँ बराबरका नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, विशेष कागज, रसायन र अन्य सामग्री बरामद भएको छ। यस घटनामा संलग्न १० जना पक्राउ परेका छन्, जसमा ३ जना नेपाली नागरिक पनि रहेका छन्। पक्राउ परेकामाथि सोधपुछ जारी रहेको र थप संलग्न व्यक्तिहरूको पहिचान खुल्दै गएको भारतीय सुरक्षा स्रोतले जनाएको छ।
त्यस्तै, नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीन वटा मोटरसाइकल र एक कार समेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार गिरोहले खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती नाकाहरू प्रयोग गरी नक्कली नोट नेपाल भित्र्याउने योजना बनाएको खुलेको छ।
भारतीय प्रहरीले यसलाई राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामा गम्भीर खतरा ठहर गर्दै उच्च प्राथमिकतामा अनुसन्धान अघि बढाएको छ। गिरोहका मुख्य योजनाकार र नेपाल–भारत दुवै पक्षमा सक्रिय अन्य सदस्यको खोजी तीव्र पारिएको छ।
घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा बनाइएको छ। दुवै देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदान र समन्वय बढाइएको छ भने नेपाली सुरक्षा निकायले पनि नक्कली नोट नियन्त्रण र सम्भावित आपराधिक गतिविधि रोक्न विशेष निगरानी थालेको स्रोतले जनाएको छ।