पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले वीरगन्ज महानगरपालिकाका वडा नम्बर–१८ भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुर क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सर्राफले मधेस आन्दोलन र जेन्जि आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या भएको उल्लेख गर्दै त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले लगायतका ठूला दल र ती दलका उम्मेदवारहरू जिम्मेवार रहेको आरोप लगाए। उनले मतदातालाई यस्ता पार्टीहरूलाई मतपत्रमार्फत सजाय दिन र जनताको अदालतमा बहिष्कार गर्दै खबरदारी गर्नुपर्ने बेला आएकोमा जोड दिए।
सर्राफले देश र मधेसको निकासका लागि स्पष्ट तथा उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्र रहेको दाबी गर्दै ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष अपिल गरे।
घरदैलो तथा संवाद कार्यक्रममा जनमत पार्टीका नेताहरू रम्भा मिश्र, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र सिंह, अञ्जना गुप्ता, नजमा खातुन, अनिता रौनियारलगायतको उल्लेख्य सहभागिता रहेको थियो।