पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले संसदीय सम्पर्क कार्यालय स्थापना गरी २४ घण्टा जनताको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताका समस्या, गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने उद्देश्यले उक्त कार्यालय सञ्चालन गरिने बताएका हुन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५, लक्ष्मणवामा आयोजित भेटघाट, संवाद तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले वीरगञ्जको गौरव पुनःस्थापना गर्दै सबैले गर्व गर्न सक्ने शहर निर्माण गर्ने स्पष्ट भिजन जनमत पार्टीसँग रहेको बताए। उनले जनमत पार्टी र ‘हर्न’ चुनाव चिह्नमा मतदान गरी वीरगञ्ज तथा पर्साको विकास र समृद्धिको अभियानमा साथ दिन मतदातासँग आग्रह गरे।
उम्मेदवार सरार्फले जनतासँग निरन्तर सम्पर्कमा रहन हेल्प डेस्कसहितको संसदीय सम्पर्क कार्यालय सञ्चालन गरिने जानकारी दिँदै त्यसमार्फत २४ घण्टा सेवा उपलब्ध गराइने बताए। “जनताका समस्या सुन्ने र समाधानलाई प्राथमिकतामा राख्ने माध्यमका रूपमा संसदीय सम्पर्क कार्यालय महत्वपूर्ण हुनेछ,” उनले भने।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, नजमा खातुन, महादेव शर्मा, भुपेन्द्र साह, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय नागरिकहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवासम्बन्धी आफ्ना अपेक्षा र सुझावहरू उम्मेदवार सरार्फसमक्ष राखेका थिए। सरार्फले ती विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।