पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आजदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन्।
वीरगञ्जस्थित सौराहा गाउँबाट सुरु भएको घरदैलो कार्यक्रम भवानिपुर, मनिहारी, इनरुवा हुँदै हरपतगञ्ज आपौनी गाउँमा पुगेर समापन गरिएको थियो। अभियानका क्रममा उम्मेदवार सिंहले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव सुनेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले युवाको नेतृत्वमा मात्र वास्तविक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे। “शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका लागि काठमाडौं धाउनुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ, गाउँमै बसेर विकास सम्भव छ,” उनले भने।
सिंहदरबार काठमाडौंमै सीमित नहुनुपर्ने उल्लेख गर्दै उनले “अब हरेक गाउँ–घरमा सिंहदरबारको अनुभूति गराउने हाम्रो लक्ष्य हो,” भन्दै समावेशी विकास, स्थानीय रोजगारी सृजना र गाउँ केन्द्रित नीतिको आवश्यकता औँल्याए।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले उज्यालो नेपाल पार्टीप्रति जनताको उत्साह र विश्वास बढ्दै गएको प्रतिक्रिया दिएका छन्।
उम्मेदवार सिंहले आगामी दिनहरूमा पनि निर्वाचन क्षेत्रभित्र निरन्तर जनसम्पर्क र संवादलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।