आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं. २ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीका युवा उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै वीरगञ्जको पहिचान र पर्साको समृद्धिका लागि आफू मैदानमा उत्रिएको घोषणा गरेका छन् ।
शिक्षित र कर्मठ युवाको छवि बनाएका दासले भ्रष्टाचारको पूर्ण अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएका छन् ।
आर्थिक र औद्योगिक क्रान्तिको खाका
उम्मेदवार दासले भने, ‘वीरगञ्ज केवल सहर मात्र होइन, यो नेपालको आर्थिक इन्जिन हो। म वीरगञ्जलाई देशको औपचारिक ‘आर्थिक राजधानी’ र बारा–पर्सा क्षेत्रलाई ‘औद्योगिक कोरिडोर’ घोषणा गराउन सदनमा सशक्त आवाज उठाउनेछु।’ उनले उद्योगी व्यवसायीहरूका लागि सुरक्षित र लगानीमैत्री वातावरण बनाउने बाचा समेत गरेका छन् ।
किसान र युवाका लागि नयाँ योजना
पर्साको ग्रामीण भेगको विकासका लागि उनले ‘कृषि हब’को अवधारणा अघि सारेका छन् । किसानलाई सामाजिक सम्मान, कृषि उपजको उचित मूल्य र बजारको सुनिश्चितता गर्ने उनको योजना छ। साथै, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर दिने र बेरोजगार रहेका महिला, दलित तथा खेलाडीहरूलाई राज्यले भत्ता उपलब्ध गराउनुपर्ने माग उनले राखेका छन् ।
निःशुल्क सेवा र भौतिक पूर्वाधार
दासको प्रतिबद्धता पत्रमा स्वास्थ्य र शिक्षालाई पूर्ण रूपमा निःशुल्क र गुणस्तरीय बनाउने उल्लेख छ। ‘जनताले आधारभूत आवश्यकताका लागि भौँतारिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने । यस्तै, जीर्ण बनेको नारायणी रङ्गशालाको पुनः निर्माण र ग्रामीण क्षेत्रमा शुद्ध खानेपानी, बिजुली र सडक पुर्याउने संकल्प उनले व्यक्त गरे ।