नेकपा (एमाले) का नेता तथा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले आगामी निर्वाचनमा आफू १० हजारभन्दा बढी मतान्तरले विजयी हुने दाबी गरेका छन् । पूर्वमन्त्री समेत रहेका यादवले शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो जित सुनिश्चित रहेको बताए ।
नेकपा (एमाले) मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदान–प्रदान‘ कार्यक्रममा बोल्दै उनले आफ्नो क्षेत्रमा एमालेको संगठन अभूतपूर्व रूपमा बलियो भएको जिकिर गरे । ‘गत २०७४ को निर्वाचनमा म करिब ५ हजारको मतान्तरले विजयी भएको थिएँ, २०७९ मा १७ सयको मतान्तर थियो,’ यादवले भने, ‘तर यसपालि एमालेको पक्षमा जुन लहर देखिएको छ, त्यसले मेरो जितको मतान्तर १० हजार नाघ्ने निश्चित छ।’
वीरगन्जमा एमालेको बढ्दो शक्ति आफ्नो दाबीको आधार प्रस्तुत गर्दै यादवले वीरगन्ज महानगरपालिकाका मेयर, जिल्ला समन्वय समितिका प्रमुख र महानगरका ७ वटा वडाका वडाध्यक्षहरू एमालेमा प्रवेश गरेकाले पार्टीको शक्ति गुणात्मक रूपमा बढेको बताए । उनले थपे, ‘अहिले पर्सा–१ मा एमालेको सिङ्गो पंक्ति एकजुट छ। पार्टीका नेता र कार्यकर्तामा देखिएको यो उत्साह र उर्जाले विपक्षीलाई निकै पछि छाड्नेछ।’
मधेस प्रदेशभरका एमाले उम्मेदवारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा पर्साका अन्य क्षेत्रका उम्मेदवारहरू पनि सहभागी थिए। जसमा पर्सा क्षेत्र नम्बर २ की उम्मेदवार रिमा यादव, क्षेत्र नम्बर ३ का उम्मेदवार रुपेश पाण्डे र क्षेत्र नम्बर ४ का उम्मेदवार जालिम मियाँ मन्सुरीको उपस्थिति रहेको थियो।
प्रतिनिधिसभा सदस्यका लागि मधेस प्रदेशका प्रभावशाली नेता मानिने यादवले पर्साको विकास र जनताको चाहना पूरा गर्न एमालेको नेतृत्व अनिवार्य रहेको उल्लेख गरे ।