‘आपन बुथ सब से मजबुत’ भन्ने मुख्य नाराका साथ जनमत पार्टीले पर्सामा आफ्नो निर्वाचन लक्षित गतिविधिमा आक्रामक तीव्रता दिएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले आफ्नो सांगठनिक शक्तिलाई बुथस्तरसम्मै परिचालन गर्न सुरु गरेको हो।
आइतबार पर्सा क्षेत्र नम्बर–१ का ३४ वटै बुथका इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूका लागि आयोजित विशेष अभिमुखीकरण कार्यक्रममार्फत पार्टीले चुनावी रणनीतिको खाका सार्वजनिक गरेको छ।
‘बुथस्तर नै जितको आधार’
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले औपचारिक रूपमा आफ्नो चुनावी अभियानको घोषणा गरे । उनले निर्वाचनमा विजय हासिल गर्न बुथस्तरको संगठन नै मुख्य कडी भएको बताए ।
‘हाम्रो जितको आधार भनेकै प्रत्येक बुथमा रहेका सक्रिय कार्यकर्ता र मतदाता हुन्,’ उम्मेदवार सर्राफले भने, ‘पार्टी संगठनलाई एकताबद्ध बनाएर अब हामी मैदानमा उत्रिसकेका छौँ, २१ फागुनको परिणाम जनमतको पक्षमा आउने निश्चित छ।’
रणनीतिक अभियानः घरदैलो र जनसम्पर्क
जनमत पार्टीले पर्सामा मतदाता केन्द्रित अभियानलाई थप प्रभावकारी बनाउन आगामी दिनमा घरदैलो, टोल भेला र प्रत्यक्ष जनसम्पर्कका कार्यक्रमहरूलाई तीव्रता दिने तयारी गरेको छ। पार्टीले २१ फागुनको निर्वाचनलाई आफ्नो अस्तित्व र मधेशको समृद्धिका लागि निर्णायक मोडका रूपमा लिएको जनाएको छ।
अभिमुखीकरणमा सहभागी भएका इन्चार्जहरूलाई मतदाताको घर(घरमा पुगेर पार्टीका एजेन्डा र ‘शिक्षा, स्वास्थ्य र रोजगारी को रोडम्याप बुझाउन निर्देशन दिइएको छ।