निर्वाचनको मिति नजिकिँदै जाँदा नेपालको राजनीतिमा पब्लिक डिबेट (सार्वजनिक बहस) को बहसले नयाँ मोड लिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीच खुला बहसका लागि तयार रहेको घोषणा गरेपछि काठमाडौँका पूर्व मेयर तथा रास्वपा नेता बालेन शाहले उक्त प्रस्तावलाई कडा शब्दमा अस्वीकार गरेका छन् ।
झापा क्षेत्र नम्बर ५ मा ओलीसँगै चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेका बालेनले ओलीलाई गम्भीर आरोप लगाउँदै एउटै मञ्चमा उभिन नसकिने स्पष्ट पारेका हुन् ।
ओलीको प्रस्तावः ‘एजेन्डा र खाकासहित बहस गरौँ’
आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले आफू पारदर्शी बहसका लागि तयार रहेको बताए थिए । उनले देश बनाउने र देश जलाउने शक्तिबीचको यो लडाइँमा मतदाताले नेताहरूको वास्तविक चरित्र बुझ्न आवश्यक रहेको तर्क गरे ।
ओलीले लेखेका छन्ः ‘सामाजिक सञ्जालमा फ्रेमिङ गरिएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने काम गरेको छ। देशको नेतृत्व गर्न खोज्ने दलका एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमने–सामने बहस हुनु सकारात्मक छ। म तथ्य र एजेन्डासहित मञ्चमा उभिन तयार छु।’
ओलीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रह समेत गरे ।
बालेनको कडा जवाफः ‘बहस होइन, बहिष्कार’
ओलीको प्रस्ताव सार्वजनिक भएको केही समयमै मेयर बालेन शाहले टिप्पणी गर्दै तीखो प्रहार गरे। बालेनले विगतका राजनीतिक घटनाक्रम र हिंसालाई जोड्दै ओलीसँगको बहसलाई ‘बहिष्कार’ गर्ने घोषणा गरे ।
बालेनको प्रतिक्रियाः ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाइएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?’
बालेनले अगाडि थपे, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। नेताहरूको घर कता छन् भन्ने कुरा सबैलाई थाहा छ।’
चुनावी सरगर्मी र इगो को लडाइँ
आसन्न निर्वाचनमा बालेन शाहले एमालेको गढ मानिने झापा(५ बाट उम्मेदवारी दिने तयारी गरेसँगै ओली र बालेनबीचको वाकयुद्ध उत्कर्षमा पुगेको छ। एकातिर ओलीले आफूलाई ‘विकासप्रेमी र अनुभवी’ नेताका रूपमा प्रस्तुत गर्दै बहसको निम्तो दिइरहेका छन् भने अर्कोतिर बालेनले ‘नैतिकता र न्याय’ को प्रश्न उठाउँदै पुराना शक्तिलाई विस्थापित गर्ने रणनीति लिएको देखिन्छ।