प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ सिटका लागि देशभरबाट ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर कुल उम्मेदवारमध्ये महिला उम्मेदवारको संख्या अझै पनि अत्यन्त न्यून रहेको देखिएको छ।
निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३९५ जना मात्र महिला छन्, जुन कुल उम्मेदवारको करिब ११ प्रतिशत हो। बाँकी ३ हजार ८८ जना पुरुष उम्मेदवार रहेका छन्। यसले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको सहभागिता अझै कमजोर रहेको तथ्यलाई उजागर गरेको छ।
उमेर समूहका आधारमा हेर्दा सबैभन्दा धेरै उम्मेदवार ३६ देखि ५० वर्ष उमेर समूहका छन्। यस समूहमा कुल १ हजार ६१० उम्मेदवार रहेकामा महिला उम्मेदवार २३५ जना मात्र छन्, जबकि पुरुष उम्मेदवार १ हजार ३७५ जना रहेका छन्।
त्यस्तै, २५ देखि ३५ वर्ष उमेर समूहमा ५८३ उम्मेदवार रहेकामा महिला उम्मेदवार ६७ जना मात्र छन्। युवा पुस्तामा महिलाको प्रतिनिधित्व अझै सीमित देखिएको छ।
५१ देखि ६५ वर्ष उमेर समूहमा कुल १ हजार ९० उम्मेदवार रहेकामा महिला ९० जना मात्र छन् भने ६५ वर्षभन्दा माथि उमेर समूहमा कुल २०१ उम्मेदवारमध्ये महिला उम्मेदवार मात्र ३ जना रहेका छन्।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा ६८ वटा राजनीतिक दलले उम्मेदवार उठाएका छन्, तर अधिकांश दलले प्रत्यक्षतर्फ महिलालाई प्राथमिकतामा नराखेको महिला अधिकारकर्मीहरूको भनाइ छ।
संविधानले समान सहभागिताको व्यवस्था गरे पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारी संख्या न्यून हुनु राजनीतिमा महिलाको पहुँच र अवसर अझै चुनौतीपूर्ण अवस्थामा रहेको संकेतका रूपमा हेरिएको छ।