जिल्ला प्रहरी कार्यालय पर्साले पुस महिनामा आफ्नो कार्यक्षेत्रभित्र भएका सुरक्षा तथा अपराध अनुसन्धानका गतिविधिहरूको तथ्याङ्क सार्वजनिक गरेको छ। प्रहरीका अनुसार यस महिनामा कुल १०७ वटा मुद्दा दर्ता भएका छन्, जसमा २६ वटा जघन्य तथा गम्भीर अपराध, २१ वटा आर्थिक अपराध र ६ वटा महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दा रहेका छन्।
राजस्व चुहावट नियन्त्रणमा ठूलो सफलता
प्रहरीले राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ ठूलो सफलता हात पारेको छ। पुस महिनामा मात्रै कपडा, खाद्यान्न, औषधि, हार्डवेयर र सुपारी लगायतका सामान बरामद गरी रु. ११,२७,२७,०८६ (एघार करोड २७ लाख २७ हजार छयासी) बराबरको राजस्व संकलनमा सहयोग पुर्याएको छ।
लागुऔषध र पक्राउ अभियान
लागुऔषध नियन्त्रणतर्फ प्रहरीले पुसमा ३८४ केजी गाँजा, २५१ केजी चरेश र ३४६ ग्राम खैरो हिरोइन बरामद गरेको छ। यस क्रममा लागुऔषध कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। यस्तै, अदालतबाट सजाय भई फरार रहेका ५७ जना प्रतिवादीहरूलाई पक्राउ गरी रु. ९७,६१४ जरिवाना र ५ वर्ष १ महिना कैद असुलीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घरेलु हिंसा र जनचेतना
जिल्लाभर घरेलु हिंसाका ५७ र सामाजिक हिंसाका ८१ वटा उजुरी परेका छन्, जसमध्ये अधिकांश वीरगञ्ज महानगरपालिकामा केन्द्रित छन्। सामाजिक सुरक्षा र सचेतनाका लागि प्रहरीले महिनाभर १०९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो, जसमा ३,८४५ जना स्थानीयको सहभागिता रहेको थियो। विशेषगरी शितलहर, लागुऔषध र साइबर अपराध विरुद्धका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको थियो।
प्रहरी सेवा र उद्धार
प्रहरीको हटलाइन १०० मा पुस महिनामा १३,००२ वटा कलहरू प्राप्त भएका छन्। जिल्ला प्रहरी कार्यालयमा मात्र १०,९०२ जना सेवाग्राहीले प्रत्यक्ष सेवा लिएका छन्। यसैगरी विभिन्न विपद् (आगलागी, डुब्ने आदि) का घटनामा १७ जना प्रहरी परिचालन गरी रु. २६ लाख ३७ हजार बराबरको क्षति न्यूनिकरण र उद्धार कार्य गरिएको विवरणमा उल्लेख छ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न साप्ताहिक रूपमा ‘रिफ्रेसमेन्ट’ का लागि सिनेमा देखाउने र युनिट इन्चार्जहरूलाई हप्ताको एक दिन विदा दिने जस्ता नवीन कार्यहरूको थालनी गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले बताएका छन्।