बिरगञ्ज जेसीजको ५३औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भव्य तथा सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि बिरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह रहनु भएको थियो।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। साथै नेपाल जेसीज वर्ष २०२६ एरिया ‘ए’ असाइन राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी स्वप्ना पौडेल, राष्ट्रिय महासचिव अमर घिमिरे, एरिया ‘बी’ असाइन राष्ट्रिय उपाध्यक्ष जेसी खगेन्द्र भण्डारी तथा राष्ट्रिय उपाध्यक्ष जेसी दिपेश बराइलीलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन जेसी रन्धिर बर्नवालले गर्नुभएको थियो।
उक्त अवसरमा बिरगञ्ज जेसीज वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष जेसी रविन्द्र श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ। जेसीजको परम्पराअनुसार निवर्तमान सिनेटर सरोज चौरसियाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउनुभएको थियो। त्यसपछि अध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख सिंहले जेसीजको अग्रसरतामा ‘जेसीज पार्क’ निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा जेसीज गाउँ र जेसीज विद्यालय सञ्चालनका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्षसहित अन्य राष्ट्रिय पदाधिकारीहरूले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको औपचारिक सञ्चालन बिरगञ्ज जेसीज वर्ष २०२६ की सह–महासचिव जेसी अंकिता कुशवाहाले गर्नुभएको थियो।