वीरगञ्ज महानगरपालिकाले सरस्वती पूजाको अवसरमा विद्यालयहरूले विद्यार्थी तथा अभिभावकबाट चन्दा वा शुल्क सङ्कलन गर्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।
महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित निर्देशनमा महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई सम्बोधन गरिएको छ । केही विद्यालयले सरस्वती पूजाको नाममा जबरजस्ती चन्दा सङ्कलन गरी तडकभडकपूर्ण सांस्कृतिक कार्यक्रम तथा अन्य गतिविधि गर्ने गरेको गुनासो आएपछि महानगरले यस्तो कदम चालेको हो ।
महानगरले शिक्षा ऐन तथा नियमावलीले तोकेका शीर्षकबाहेक अन्य कुनै पनि बहानामा रकम उठाउनु गैरकानुनी हुने स्पष्ट पारेको छ । "सरस्वती पूजाका नाममा कतिपय विद्यालयले शुल्क सङ्कलन गरिसकेको बुझिएको छ," सूचनामा भनिएको छ, "यदि शुल्क सङ्कलन भइसकेको छ भने त्यसलाई अविलम्ब फिर्ता गर्न निर्देशन दिइन्छ ।"
महानगरपालिकाले सरस्वती पूजालाई केवल शैक्षिक र आध्यात्मिक पर्वको रूपमा मनाउन आग्रह गरेको छ । विद्यालयहरूलाई पूजासम्बन्धी सम्पूर्ण क्रियाकलापहरू मर्यादित, व्यवस्थित र शैक्षिक उद्देश्य अनुरूप मात्र सञ्चालन गर्न निर्देशनात्मक अनुरोध गरिएको छ । अनावश्यक आर्थिक बोझ थोपर्ने खालका गतिविधिले शैक्षिक वातावरणमा नकारात्मक असर पर्ने महाशाखा प्रमुख लामिछानेको ठहर छ ।
वसन्त पञ्चमी नजिकिँदै गर्दा विद्यालयहरूले विभिन्न बहानामा अतिरिक्त शुल्क माग्ने परिपाटीबाट आजित भएका अभिभावकहरूले महानगरको यस निर्णयको स्वागत गरेका छन् । "हरेक चाडपर्वमा विद्यालयलाई पैसा बुझाउनु पर्ने बाध्यता थियो, महानगरको यो सक्रियताले हामीलाई ठुलो राहत मिलेको छ," एक स्थानीय अभिभावक शबनम खड्काले बताईन् ।
वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय विद्यालयहरूमा अनुशासन कायम गर्न, पारदर्शिता झल्काउन र शैक्षिक गुणस्तर सुधार्न विभिन्न कडा कदमहरू चाल्दै आएको छ । यस निर्देशनको अवज्ञा गर्ने विद्यालयलाई कानुन बमोजिम कारबाही गरिने समेत महानगरले सचेत गराएको छ ।