वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू गरिएको कर्फ्यु आदेश पुनः लम्ब्याइएको छ। शान्ति सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो लागू कर्फ्युलाई बेलुका ६ बजेसम्म विस्तार गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न कर्फ्यु अवधि बढाउनुपरेको हो। यसअघि सोमबार साँझ लागू कर्फ्यु मंगलबार बिहान ८ बजेसम्म रहने व्यवस्था गरिएको थियो, तर अवस्था सहज नदेखिएपछि प्रशासनले समय थप्दै कडाइ कायम राखेको जनाएको छ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रहरूमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु उल्लङ्घन गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।
कर्फ्यु क्षेत्र पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उत्तरमा गण्डक चोकसम्म फैलिएको छ।