शान्ति सुरक्षा अवस्थामाथि गम्भीर चुनौती देखिएपछि वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा लागू कर्फ्यु आदेश थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आज दिउँसो १ बजेसम्म निरन्तर रहने जनाएको छ ।
प्रशासनका अनुसार क्षेत्र विशेषमा सम्भावित अवाञ्छित गतिविधि र हिंसात्मक घटनाको जोखिम अझै टरिन नसकेकाले कर्फ्यु हटाउन सकिने अवस्था बनेको छैन । सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै कर्फ्यु आदेशलाई निरन्तरता दिइएको हो ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठकलगायत गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरभित्रै बस्न प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गर्दै आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको जनाएको छ । यसले प्रशासन शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने संकेत दिएको छ ।
प्रशासनका अनुसार कर्फ्यु क्षेत्र पूर्वतर्फ बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिर्सिया पुल, दक्षिणतर्फ शंकराचार्य गेट तथा उत्तरतर्फ गण्डक चोकसम्म फैलिएको छ ।
यसैबीच, निर्धारित परीक्षामा सहभागी परीक्षार्थीहरूलाई भने परिचयपत्र देखाएर कर्फ्यु क्षेत्रभित्र आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।