राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सातबुँदे सम्झौताले जेन–जी आन्दोलनको मूल भावना समेट्न नसकेको भन्दै उज्यालो नेपाल पार्टीले असन्तुष्टि जनाएको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीले रवि–बालेनबीच भएको सातबुँदे सम्झौता जेन–जी आन्दोलनको अपेक्षाअनुसार नभएको टिप्पणी गरेको हो ।
रवि र बालेनबीच सहमति हुनुअघिसम्म उज्यालो नेपाल पार्टीसँग निरन्तर संवाद भइरहेको थियो । शनिबार दिनभर बसेको पार्टीको केन्द्रीय समिति बैठकले रास्वपाबाट आएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो । तर सो निर्णय भएको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएको थियो ।
सहमति सार्वजनिक भएपछि उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न जितराम लामाले उक्त सम्झौताले जेन–जी आन्दोलनको मूल भावनालाई समेट्न नसकेको बताए ।
‘सम्झौता अपेक्षाकृत थिएन । उहाँहरूले गर्नुभयो, उहाँहरूको कुरा भयो,’ लामाले भने, ‘तर त्यो सम्झौताले जेन–जी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेट्दैन । त्यहाँ केवल पदको भागबण्डा मात्र देखिन्छ ।’
उनका अनुसार सम्झौतामा भोलिको राजनीतिक रोडम्याप, देशका जटिल समस्या समाधान गर्ने उपाय तथा नीतिगत र वैचारिक स्पष्टता देखिँदैन ।
‘देश कसरी अघि बढ्छ ? समस्या कसरी समाधान हुन्छ ? भन्ने विषयमा कुनै ठोस नीति र दृष्टिकोण देखिँदैन,’ उनले भने ।
लामाले अब उज्यालो नेपाल पार्टी अलग ढंगले संगठन विस्तारमा अघि बढ्ने पनि बताए ।
‘हामी हाम्रै हिसाबले अगाडि बढ्छौं । कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर जनतामा जानेछौं,’ उनले भने ।
रवि–बालेन सम्झौतामा उज्यालो नेपाल पार्टी नसमेटिनुको कारण नीतिगत र वैचारिक अस्पष्टता नै मुख्य रहेको उनको दाबी छ ।