रीना चौधरी दिव्य विकास स्रोत केन्द्रमा स्थानीय अधिकार कार्यक्रमको संयोजक हुन् । विभिन्न जिल्लामा बसेर सामाजिक संस्थामा काम गरेकी उनले सन् २०२२ देखि दिव्य विकास स्रोत केन्द्र कार्यक्रम संयोजक भएर पर्सा जिल्लामा महिला सशक्तीकरण अभियानमा सक्रिय रहेकी छन् । प्रस्तुत छ, संयोजक चौधरीसँग महिलाको नेतृत्व र अपेक्षाबारे गरिएको कुराकानीको सम्पादित अंश:
तपाईंको बाल्यकालबारे बताइदिनुहोस् न ?
म परिवारको ४ सन्तान मध्ये कान्छी छोरी हुँ । सानै उमेरदेखि छोरा र छोरीबीचमा कुनै विभेद नभई हुर्किएकी हुँ । तर, मेरो छिमेकमा भने छोराछोरीमा विभेदपूर्ण वातावरण धेरै देखेकी छु । म वीरगञ्जको मुर्लीमा हुर्किएकीले हरेक समुदाय, धर्म, जातजातिको प्रचलन, मूल्यमान्यता हेर्न र त्यसमा सहभागी हुन पाएँ । त्यसक्रममा कुनै परम्परा जबर्जस्ती महिलामा थोपरेको परम्परा र त्यसले महिलालाई पीडा दिएको पनि बाल्यअवस्थामा देखेकी छु । छोरीको जन्मदेखि नै दाइजो दिनुपर्ने मानसिकता भएकोले बैंकमा खाता खोलेर दैनिकी खर्चमा घटाएर बचत गर्ने गरेको पनि देखेकै हो । मैले परिवारको साथ सहयोगमा स्नातकोत्तरसम्मको अध्ययन गर्ने अवसर पाएँ ।
भनेपछि तपाईंलाई परिवारको साथ र सहयोग राम्रो रह्यो ?
रोजगारीमा लागेपछि मात्र विवाह भयो । विवाहपछि पनि ठूलो परिवार भए पनि राम्रो सहयोग पाएँ । घरमा पनि मेरो सफलता देखेर परिवारका महिलाहरू पनि आफ्नो क्षमताअनुसार काम गर्न उत्प्रेरित भएका छन् । मैलै कहिल्यै पनि काम गर्न वञ्चित हुनु परेन । घरपरिवारमा निर्धक्क भएर आफ्नो विचार राख्न सक्ने स्वतन्त्रता पाउनु ठूलो कुरा हो, त्यो मैले पाएँ ।
महिलालाई अघि बढ्न के चाहिन्छ, कस्ता चुनौती छन् ?
पढाई र कामलगायत हरेक क्षेत्रमा स्वतन्त्रता हुनु पर्दछ । नेतृत्व गर्ने महिला उत्पादन भइसकेको र महिलाहरू आफ्नो पहिचान खोज्न अगाडि बढिसकेको अवस्था छ । हरेक क्षेत्रमा महिलाले आफ्नो पहिचान गराउन संघर्ष गर्नु परिरहेको पनि छ । समाजको मूल्य मान्यता, संस्कृति र पितृसत्तात्मक सोचले महिलाको नेतृत्वलाई स्वीकार्न सकेको छैन । समुदायमा बाहिर निस्केर महिलाहरूको नेतृत्व गरेर हिँडेको भए पनि कतिपय सांस्कृतिक मूल्यमान्यताले गर्दा परिवारले घरबाट बाहिर ननिस्कनु है भन्ने संस्कार आज पनि रहेको छ । मनले चाहेर पनि संस्कृतिलाई एकै चोटी तोड्न पनि गाह्रो हुन्छ ।
महिलाले नेतृत्व क्षमतामा आशंका गर्नेहरू पनि छन्, तपाईंको अनुभव के छ ?
पुरुषभन्दा महिलाको नेतृत्व गर्ने क्षमता बढी छ । महिलामा पुरुषभन्दा ३ गुणा राम्रो निर्णय गर्ने क्षमता हुन्छ । निर्णय क्षमतामा पुरुषभन्दा महिला अब्बल छन् । हरेक क्षेत्रमा महिलाहरूले नेतृत्व गरेर अगाडि बढिरहेको छन् । महिलाले गरेको राम्रो कामलाई हौसला बढाउने काम सबैले गरे महिलाहरूलाई नेतृत्व गर्न प्रोत्साहन मिल्ने देखिन्छ । स्थानीय सरकार, संघसंस्थाहरूले कार्यक्रमहरूमा महिलाले गरेको कामलाई सम्मान गर्ने गरेमा झनै बालिकाहरूलाई हौसला मिल्ने छ । महिलाले परिवारको स्वास्थका लागि, पोषण र समृद्धिको लागि गरेको कामको कुनै मूल्य र कदर समाजमा भएको छैन । बालबालिकादेखि नै छोरा र छोरीहरूलाई बेग्लै पर्खाल खडा गरेको हुनाले बरु छोराले घरायसी कुनै सीप सिक्न पाएका हुँदैनन् । महिलाले घरबाहिर गएर नेतृत्व सम्हाल्दा पनि घर परिवार सञ्चालन गर्ने कला पुरुषमा भन्दा बढी हुन्छ । जुन परिवारमा आमाबुबाले छोराछोरीलाई विभेद नगरी सानोदेखि नै घरायसी सीप दिएको हुन्छ । त्यो परिवारका पुरुषले सीप सिक्ने अवसर पाएको हुन्छन् । जुन परिवारका आमाबुबाले सानो सीप सिकाएको हँुदैन, त्यो परिवारको पुरुषले सीप सिक्ने अवसरबाट वञ्चित भएका छन् । महिलाले घर, बालबच्चा, अफिसको काम सबै गरेर बेलुका थकान लाग्छ नै तर पनि परिवारले गरेको कामको प्रशंसा गरिदिदाँ झनै हौसला बढ्छ ।
महिलालाई अघि बढ्न परिवारको भूमिका कस्तो हुनु पर्दछ ?
कतिपय घरमा उनीहरूको कामलाई ठोस लगाइदिँदा मानसिक तनाब भोगिरहेका हुन्छन् । घरको कामको बोझ घटाउने काम परिवारको सदस्यको हो । परिवार पहिलो पाठशाला भएकोले बालबालिकाको उमेर अनुसार दिने सीप, नैतिक शिक्षा, सहयोगीपनले गर्दा पछि पनि उनीहरूमा सीप र क्षमताको विकास हुन्छ । सानो उमेरमा गरेको अभ्यास गराएर, व्यवहार सिकाएमा पछि गएर व्यवहारमा परिवर्तन आउँछ । महिलाको बोझलाई कम गराउन सकिन्छ । घरको नेतृत्व गर्ने पुरुषले महिलाको विचार, विमर्श, सल्लाह सुझाव लिँदै अगाडि बढे सुखी र सम्पन्न परिवार हुन सक्छ ।
महिलाहरू नेतृत्वमा किन आउनु पर्दछजस्तो लाग्छ ?
महिलाहरू पनि सामाजिक, आर्थिक, पारिवारिक हिसाबले अगाडि बढेमात्र राष्ट्रको समृद्धि सम्भव छ । आर्थिक रुपमा महिलाले सहयोग गर्दा कामको मूल्यको मापन हँुदै जान्छ । परिवर्तन एक्कासी नहुने भएकोले संघ–संस्था, स्थानीय निकायहरूले गृहणी महिलाहरूको बचेको समयलाई सीप विकास गरेर आयआर्जनको क्षेत्रमा संलग्न गर्नु पर्छ । गृहणी महिलाहरूले आर्थिक अभावमा खान मन लागेको खानेकुरा पनि खान नपाएको अवस्था छ । महिलाले आर्थिक रुपले सहयोग गर्दै जाँदा बिस्तारै महिलाको नेतृत्व पनि स्वीकार हुँदै गएको छ् । पुरुषहरूले आफ्ना विचार राख्ने अवसर पाएका हुन्छन् । तर, महिलाले घरभित्र काम गर्दा गर्दैै समय बितेको हुन्छ । मनका कुरा राख्ने अवसर पनि पाएका हुँदैनन् ।
महिलालाई नेतृत्वमा स्थापित हुन अन्य कस्ता कुरा चाहिन्छन् ?
महिलालाई पनि टोल र छिमेकमा समूहमा संगठित भएर आफ्ना विचारहरू र सीपहरूमा छलफल गर्ने अवसर जुटाइदिनु पर्छ । उनीहरूले पाएको सीप विकासलाई अभ्यास बढ्दै जाने र आयआर्जनमा जोडिन सक्छन् । महिलाहरू अगाडि बढ्न सक्छन् । कुनै पनि क्षेत्रमा नेतृत्व गर्न घर परिवार, सहकर्मी साथीहरूले हौसल्ला दिन आवश्यक छ । ग्रामीण समुदायका महिलाहरूले निश्चित स्थानमात्र मेरो संसार हो भनेर सोचेका हुन्छन् । यस्ता महिलाहरूलाई उनीहरू अवसर देखाइदिने । उनीहरूभित्र भएका सीपहरूलाई औंल्याइदिने र यो काम गर्न सक्नु हुन्छ भनेर हौसला बढाउने काम गर्न आवश्यक छ । महिला हरेक क्षेत्रमा अगाडि बढिरहँदा अवसर नदिने र महिला आर्थिक अभावको कारणले राजनीतिक क्षेत्रमा आउन नसकेको हो । महिलाहरूले पदमा गएर आफ्नो क्षमताअनुसार निर्णय गर्न र काम गर्न सक्छ ।