ब्राजिलका स्टार फरवार्ड नेयमारलाई मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले यस वर्षको विश्वकपका लागि ब्राजिलको २६ सदस्यीय टोलीमा समावेश गरेका छन् ।
हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार लामो समय चोटका कारण राष्ट्रिय टोली बाहिर थिए । उनी सन् २०२३ पछि पहिलो पटक ब्राजिल टोलीमा फर्किएका हुन् ।
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले राष्ट्रिय टोलीका लागि १२८ खेलमा ७९ गोल गरिसकेका छन् । टोलीमा पुनरागमनसँगै उनले चौथो विश्वकप खेल्ने भएका छन् । यसअघि उनले २०१४, २०१८ र २०२२ को विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए ।
रियो दि जेनेरियोमा आयोजित विशेष समारोहमा प्रशिक्षक कार्लो एन्सेलोट्टीले टोली घोषणा गरेका थिए । नेयमारको नाम सार्वजनिक हुँदा समर्थकहरूले उत्साहपूर्ण स्वागत गरेका थिए ।
एन्सेलोट्टीले नेयमार पछिल्लो समय नियमित रूपमा खेलिरहेको र शारीरिक रूपमा राम्रो अवस्थामा रहेको मूल्यांकनपछि टोलीमा समावेश गरिएको बताएका छन् ।
टोलीमा लिभरपुलका गोलरक्षक एलिसन बेकर, फेनरबाचेका एडर्सन, ग्रेमियोका वेभर्टन, फ्लामेन्गोका एलेक्स सान्द्रो, डानिलो र लियो परेइरा, युभेन्टसका ब्रेमर, अल-अहलीका इबानेज, रोमाका वेस्ली, पेरिस सेन्ट-जर्मेनका मार्किन्होस, आर्सनलका गाब्रियल तथा जेनिट सेन्ट पिटर्सबर्गका डग्लस सान्तोस समावेश छन् ।
मिडफिल्डमा न्युक्यासल युनाइटेडका ब्रुनो गुइमाराएस, म्यानचेस्टर युनाइटेडका कासेमिरो, बोटाफोगोका डानिलो सान्तोस, अल-इत्तिहादका फाबिन्हो तथा फ्लामेन्गोका लुकास पाक्वेटा टोलीमा परेका छन् ।
फरवार्डतर्फ लियोनबाट खेलिरहेका एन्ड्रिक, आर्सनलका गाब्रियल मार्टिनेली, ब्रेन्टफोर्डका इगोर थियागो, म्यानचेस्टर युनाइटेडका म्याथियस कुञ्हा, बार्सिलोनाका राफिन्हा, रियल मड्रिडका भिनिसियस जुनियर, जेनिट सेन्ट पिटर्सबर्गका लुइज हेनरिक, सान्तोसका नेयमार तथा बोर्नमाउथका रायान टोलीमा छन् ।
यद्यपि चेल्सीका फरवार्ड जोआओ पेड्रो टोलीमा अटाउन सकेनन् । उनले यस सिजन प्रिमियर लिगमा १५ गोल र पाँच असिस्ट गरेका थिए ।
पाँच पटकको विश्वविजेता ब्राजिलले समूह ‘सी’ अन्तर्गत जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र जुन २४ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने ४८ टोली सहभागी विश्वकप जुन ११ बाट सुरु हुँदैछ ।