बारा कलैयामा सञ्चालित ग्यालेक्सी पब्लिक स्कुल र ग्यालेक्सी पब्लिक कलेज उदाहरणीय शैक्षिक संस्था हो । यसको सहायक प्रधानाध्यापक हुन्, नम्रता रिसाल । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । बिस २०५२ सालमा ग्यालेक्सी पब्लिक स्कुलको स्थापना गरेकी रिसाल ४० वर्षदेखि शिक्षण क्षेत्रमा आवद्ध छिन् । प्रधानाध्यापक रिसालसँग शैक्षिक क्षेत्रको अहिलेको अवस्थाबारेमा गरिएको कुराकानीको सार:
शिक्षण क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
परिवारका सबै सदस्यहरू शिक्षित थिए । मलाई पनि शैक्षिक क्षेत्रमा काम गर्ने भन्ने इच्छा जाग्यो । मैले विद्यालय खोल्न परिवारका सबै सदस्यहरूबाट सहयोग पाएँ । आमाबुबा, श्रीमान र परिवारका सदस्यहरूको प्रोत्साहनले नै निरन्तर रुपमा काम गर्दै आएकी छु ।
शिक्षा क्षेत्रमा कस्ता कुरामा सुधार गर्न जरुरी छ ?
पहिलाको शिक्षा र अहिलेको शिक्षामा धेरै फरक छ । पहिला परम्परागत शैलीमा अध्ययन हुन्थ्यो अहिले आधुनिक पद्धतिबाट अध्ययन अध्यापन हुन्छ । बालबालिकाहरूको मानसिक अवस्था र क्षमताले पनि अध्ययनलाई निर्धारण गर्दछ । धेरै क्षमतावान बालबालिकाहरू शिक्षामा प्रगति गर्दै जान्छन् । केही बालबालिकाहरू कम क्षमता भएकाले उनीहरूलाई व्यावसायिक र सीपमूलक तालिमको व्यवस्था गरेर सिकाउनु पर्छ । बालबालिकाको क्षमता र रुचीअनुसारको सीपमूलक तालिमको व्यवस्था गर्नुपर्छ । अनिमात्र शिक्षाको क्षेत्रमा सुधार हुन सक्छ ।
मधेशको शैक्षिक क्षेत्रमा कस्ता चुनौती देख्नुभएको छ ?
कालोपाटीको प्रयोगबाट शुरू भएको शिक्षा आज डिजिटल युगमा आइसकेका छौं । पहिलाका अभिभावकले बच्चाहरूलाई पूर्णरुपमा शिक्षकको जिम्मेवारीमा दिन्थे । तर, अहिलेका अभिभावकहरू बालबालिकाका सामान्य कुराहरूमा पनि शिक्षकको गल्ती आंैल्याइरहेका हुन्छन् । अहिले डिजिटल युगमा मोबाइल र ल्यापटप दिएका हुन्छन् । तर, मेरो बच्चाले के हेर्दै छ, के गर्दै छ भन्ने विषयमा चासो दिँदैनन् । कहिले राम्रो भइरहेको हुन्छ । कहिले बच्चाको स्वास्थ्यमा समस्या निम्त्याइरहेको हुन्छ ।
मोबाइलको गलत प्रयोग रोक्न के गर्नुपर्छ ?
मोबाइलको प्रयोगले राम्रो र नराम्रो दुवै असर परेको हुन्छ । बालबालिकाले मोबाइलमा राम्रा विषयहरू छनौट गरेर हेरेमा ज्ञान बढ्छ । अभिभावकले बालबालिकाले कस्ता विषयलाई हेर्ने भनेर निर्देश गरेमा बालबालिका सही बाटोमा जान्छन् । मोबाइल दिने, तर वास्ता नगर्दा गलत दिशातर्फ गइरहेका छन् । बालबालिका मनोरञ्जनात्मक सामग्रीहरूतर्फ बढी ध्यान केन्द्रित भएका हुन्छन् । विद्यार्थी राम्रो हुनुमा अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध हुन्छ । शिक्षकले दिएको गृहकार्यमा अभिभावकले सहयोग गरिदिएमा विद्यार्थीलाई प्रोत्साहन मिल्छ । अहिलेको धेरैजसो आमाबुबालाई बच्चाको लागि समय हँुदैन । तर, अभिभावकले कामलाई जसरी महत्व दिन्छन् । त्यस्तै बच्चाको हेरचाहको लागि पनि निश्चित समय दिनु पर्छ । बालबालिकाले आमाबुबासँग आफ्ना विचारहरू आदनप्रदान गर्ने अवसर दिनु पर्छ । आमाबुबासँगको सम्बन्ध राम्रो हुदाँ शिक्षकसँग पनि राम्रो सम्बन्ध बढाउँछन् । बालबालिकाको व्यक्तित्व विकास हुन्छ ।
ग्यालेक्सी स्कुलले बालबालिकाको व्यक्तित्व निर्माणमा कस्ता उपाय अपनाएको छ ?
ग्यालेक्सी स्कुलमा विद्यार्थी अध्ययन गर्न आउनुको कारण गुणस्तरीय शिक्षा र पास भएर गएका विद्यार्थीहरूको सकारात्मक प्रतिक्रिया हो । यहाँ छात्रभन्दा छात्राको संख्या बढी छ । अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता हुने भएकोले पनि पढ्न आउने गरेका छन् । ग्यालेक्सी स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरूका अनुशासित हुन्छन् । यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले राम्रो नतिजा ल्याउन सफल भएका छन् । गरीब विद्यार्थीहरूलाई सरकारले दिएको सुविधाका साथै विद्यालयले पनि छात्रवृत्ति दिएको छ । पहिलो परीक्षामा प्रथम हुनेलाई अर्को परीक्षासम्म मासिक शुल्क निःशुल्क गरेका छौं । हरेक परीक्षामा प्रथम हँुदै जाने विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेका छौं । विद्यालयका ३० जना विद्यार्थीहरूले राष्ट्रिय सेवा दलको सय दिने तालिम प्राप्त गर्छन् । यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू डाक्टर, अर्थोपेडिक सर्जन, इञ्जिनियर, चार्टट एकाउन्टेन र मन्त्रालयका सचिवसम्मको पदमा पुग्न सफल भएका छन् ।
राष्ट्रिय सेवा दल भनेको के हो ? यो कस्ता काममा सक्रिय हुन्छ ?
राष्ट्रिय सेवा दल नेपाली सेनाअन्र्तगतको कार्यक्रम हो । विपद्मा उद्धारका लागि स्वयम सेवकहरू उत्पादन गरेर राख्ने संस्था हो । देशमा प्रकोप परेको अवस्थामा निःशुल्क सेवा दिने संस्था हो । यसमा तालिम प्राप्त स्वयम्सेवकलाई दुई समूहमा विभाजन गरिएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू जुनियर र कक्षा ११ र १२ विद्यार्थीहरूलाई सिनियर मानिएको छ । जुनियर र सिनियरलाई दिइने तालिम फरक छन् । सिनियरहरूलाई हतियार चलाउनेसम्मको तालिम दिइएको हुन्छ । भविष्यमा नेपाली सेनामा जागिर खानका लागि प्रशिक्षित रुपमा अगाडि हुन्छन् । विद्यार्थीहरूमा जागृत राष्ट्र प्रेम र राष्ट्रियताको भावना गराउने कार्यक्रम हो । सरकारले यसमा ६० प्रतिशत सरकारी विद्यालय र ४० प्रतिशत आवासीय स्कुलहरूलाई छनौट गरेर सञ्चालन गरेको छ । बारा जिल्लामा ३ वटा सरकारी विद्यालय र एउटा निजी विद्यालय गरी ४ वटा विद्यालय छनौटमा परेका छन् । निजी विद्यालयहरूमध्येबाट ग्यालेक्सी स्कुल छनौटमा पर्न सफल भएको छ ।
अध्ययन अध्यापनका अतिरिक्त कस्ता कार्यक्रमहरू हुन्छन् ?
पढाईको साथसाथै ताइक्वान्दो, बास्केटबल, फुटबल, नृत्य, संगीत प्रतियोगिता, चित्रकला, प्रिन्टिङ्ग प्रतियोगिता हुने गर्दछ । विद्यार्थीको रुचीअनुसार सीपमूलक तालिम पनि सञ्चालन गर्ने सोच आएको छ ।
निजी विद्यालयको शिक्षाको स्तर उकास्न सरकारले कस्तो सहयोग गर्नुपर्छ ?
निजी विद्यालयहरूका लागि तालिम प्राप्त शिक्षकको अभाव छ । निजी विद्यालयका शिक्षकलाई पनि सरकारी विद्यालयका शिक्षकहरूजस्तै तालिममा सहभागी गराइनु पर्दछ । निजी विद्यालयका शिक्षकहरूले स्वअध्ययन र तालिम लिने प्रयास गरेका छन् । विद्यालयबाट पनि प्रशिक्षक बोलाएर तालिम गराएको छु । सरकारबाट निजी विद्यालयहरूलाई पनि छात्रवृत्तिको व्यवस्था गरिदिएमा विद्यार्थीहरूले लाभ पाउँछन् । सरकारको ग्रेडिङ्ग प्रणाली उचित भएन् । कमजोर विद्यार्थीहरूमात्र शिक्षा क्षेत्रमा पढ्ने भनेर ग्रेड छुट्टयाएको छ । जसले गर्दा शिक्षा क्षेत्र कमजोर भएको छ । राम्रो नतिजा ल्याएका विद्यार्थी अन्य विषयमा आकर्षित हुने भएकोले पनि शिक्षा क्षेत्र खस्किएको छ । सरकारले यसमा सुधार गर्नु पर्छ । निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई उच्चतहको छात्रवृत्तिमा बन्देज गरिएको छ । कक्षा ८ सम्म निजी विद्यालयमा अध्ययन गर्ने र सरकारी विद्यालयमा जाने प्रवृत्ति चलेको छ । यस्तो प्रवृत्तिले गर्दा पनि निजी विद्यालयहरूलाई असर परेको छ । शिक्षाको ऐन ल्याउँदा निजी विद्यालयहरूलाई समेट्न नसकेकोले निजी विद्यालयका सञ्चालकहरूले गुणस्तर बढाउन लगानी गर्न नसकेको अवस्था छ । मधेश प्रदेशमा अभिभावकहरू आफ्ना विद्यार्थीलाई समय नदिने र शिक्षकले विद्यालयमा सजाय दिनेबित्तिकै हुल बाँधेर आउने प्रवृत्ति बढ्दो छ । जसले गर्दा शैक्षिकस्तर कमजोर भएको छ । सरकारले डी गे्रडमा पास भएका विद्यार्थीहरूलाई सीपमूलक तालिमको व्यवस्था गरेर दक्षतामा वृद्धि गराउनु पर्छ ।